Shittalpati
मृगौला पीडितलाई कतारमा रहेका नेपालीको सहयोग

पाल्पा(रामपुर), कतारमा रहेका नेपालीहरुले मृगौला पीडित विरामीलाई रकम संकलन गरी सहयोग गरेका छन् । दुवै मृगौला फेल भएपछि उपचारत रहेका रामपुर ५ बेझाँडका ३२ वर्षिय भगवती सुनारको उपचारका लागि उनीहरुले ५१ हजार १० रुपैयाँ सहयोग गरेका हुन् । सुनारको दुवै मृगौलाले काम नगरे पछि हाल शिक्षण अस्पताल काठमाडौंमा उपचार हुँदै आएको छ ।

बौदीकाली ३ रकुवा घर भई हाल रामपुर ५ बेझाँडमा बस्दै आएकी भगवतीको दशैं अघिदेखि मृगौलामा समस्या देखिएको थियो । उनको उपचारमा समस्या देखिएपछि पाल्पाली समाज कतारको समन्वयमा युवाहरुले रकम संकलन गरेका थिए । सहयोग अभियानबाट कतारका विभिन्न कम्पनीमा कार्यरत युवाहरुले रकम संकलन गरेर पठाएको हाल कतारमा कार्यरत रम्भा १ हुँगीका ईश्वर काफ्ले जानकारी दिए ।

संकलन भएको रकम रामपुर नगरपालिकामा एक कार्यक्रमका बीच भगवती सुनारका श्रीमान कृष्ण सुनारलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्याल, रामपुर ५ का वडा अध्यक्ष हिमाल मल्ल र पत्रकार सीता डोटेललले रामपुर नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा हस्तान्तरण गरेका हुन् । रकम प्रदान गर्दै नगर प्रमुख रमणबहादुर थापाले विदेशमा रहेका नेपालीले स्वदेशमा परेको दुःखमा गरेको सहयोगहरुप्रति कृतज्ञता प्रकट गरे । उनले नगरभित्रका नागरिकहरुको स्वास्थ्य सेवामा सहजताको लागि नगरपालिकाले पनि आवश्यक पहल गरिरहेको बताए । मृगौला पीडित भगवतीको वर्तमान स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिदै श्रीमान कृष्ण सुनारले सहयोगी दाताहरुलाई धन्यवाद दिए ।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update