Shittalpati
पाल्पामा कृषि र पशु क्षेत्रको बजेट २१ करोड २२ लाख

रामचन्द्र रायमाझी
पाल्पा,  जिल्लामा कृषि र पशु विकासको क्षेत्रमा २१ करोड २२ लाख बढी बजेट विनियोजन भएको छ । जिल्लामा कृषि र पुश विकासको क्षेत्रमा काम गर्दै आएका सरकारी निकायहरुले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि २१ करोड २२ लाख ४८ हजार बराबरको बजेट विनियोजन गरेका छन् ।
कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई पाल्पाले आर्थिक वर्षका लागि छुट्टाछुट्टै कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । उनीहरुले व्यवसायिक कृषि र पशुपालनलाई जोड दिदै आगामी कार्यक्रम र बजेट ल्याएका हुन् । यि कार्यालयहरुले यस अघि नै बजेट तथा कार्यक्रम ल्याए पनि कोरोना महामारीका कारण सार्वजनिक भने गर्न सकेका थिएनन् । बिहीबार एक कार्यक्रमका बिच उनीहरुले बजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । कृषि ज्ञान केन्द्रले आगामी आर्थिक वर्षका लागि ८ करोड १३ लाख ५९ हजार बराबरको बजेट ल्याएको छ ।

कार्यालय प्रमुख कामना अधिकारीले आगामी वर्षका लागि ८ वटा महत्वपूर्ण कार्यक्रमका लागि बजेट विनियोजन गरिएको बताईन् । उनका अनुसार कृषि ज्ञान केन्द्रले कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रम,स्मार्ट कृषि गाउँ कार्यक्रम, अभियानमुखी कृषि तथा पशुपंक्षी विकास कार्यक्रम, कृषि तथा पशुपंक्षी स्रोत तथा प्रविधि सेवा विस्तार कार्यक्रम, कृषि तथा पशुपंक्षीजन्य उद्योग, यन्त्र तथा पूर्वाधार विकास कार्यक्रम, कृषि (संघ शसर्त अनुदान), प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमका लागि बजेट ल्याएको हो । यस्तै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आगामी आर्थिक वर्षका लागि ९ करोड १९ लाख ८५ हजारको बजेट ल्याएको छ । केन्द्रका प्रमुख डा. चन्द्र रानाले विभिन्न ११ वटा कार्यक्रमका लागि बजेट ल्याइएको बताए । उनका अनुसार केन्द्रले आगामी आर्थिक वर्षका लागि साधारण कार्यक्रम, कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रम, मत्स्य विकास कार्यक्रम, अभियानमुखी मिसन कृषि तथा पशुपंक्षी विकास कार्यक्रम, कृषि तथा पशुपंक्षी स्रोत तथा प्रविधि सेवा विस्तार कार्यक्रम, पशुपंक्षी विकास तथा पशु स्वास्थ्य नियमन, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कृषिकर्मी रोजगार कार्यक्रम, पशुपंक्षी रवग नियन्त्रणका लागि खोप अभियान, कृषि विकास रणनीतिक कार्यक्रमहरु ल्याएको छ । यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई पाल्पाले ३ करोड ८९ लाख ६३ हजारको बजेट ल्याएको छ ।

परियोजनाका प्रमुख दिपक भट्टराईले अदुवा जोन, सुन्तलाजात फलफूल जोन र तरकारी जोनका लागि बजेट विनियोजन गरिएको बताए । कार्यक्रममा कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका योजना शाखा प्रमुख हरी पण्डितले प्रदेशको कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने योजना प्रदेश सरकारको रहेको बताए ।कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय गाउँपालिका महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद बस्यालले कृषि र पशु क्षेत्रका कार्यक्रमहरु गर्दा स्थानीय सरकारसँग समन्वयन गरेर अगाडि बढ्न कार्यालयहरुलाई आग्रह गरे । उनले भने ‘स्थानीय सरकार र सेवा प्रवाह गर्ने कार्यालयसँग समन्वय भएको खण्डमा कृषिमा परनिर्भता रोकेर आत्मनिर्भरता तर्फ बढ्न सजिलो हुने छ ।’ प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले अझै पनि हाम्रो मुलुक कृषिमा आत्मनिर्भर बन्न नसकेको बताए । उनले कृषिमा आत्मनिर्भर बनाउन युवालाई आकर्षित बनाउने गरी जिल्लाका सरोकारवाला कार्यालयहरुले कार्यक्रम बनाउनु पर्नेमा जोड दिए । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले पनि कृषिमा आत्मनिर्भर कार्यक्रम बनाउन सुझाव दिए । नेपाल पत्रकार महासघंका अध्यक्ष रेखीराम रानाले नीति र कार्यक्रम राम्रो भएको र कार्यान्वयनका क्रममा सञ्चार जगतसँंग समन्वय गर्न जोड दिए । कार्यक्रम जिल्ला समन्वय समिति पाल्पाकी कार्यवाहक प्रमुख मिरा मरासीनीको अध्यक्षता, कृषि ज्ञान केन्द्रका अधिकृत मिलन गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update