इमान सिं राना
पाल्पा (रामपुर) । रामपुर नगरपालिका कृषि शाखा परिसरमा निर्माण गरिएको उच्च प्रविधिको तरकारी टनेल पछिल्लो समय आधुनिक कृषि प्र्रविधि सिक्ने स्थानको रुपमा चिनिन थालेको छ । गतवर्ष रामपुर नगरपालिका र प्रदेश नं. ५ ले २ रोपनीमा निर्माण गरेको टनेल कृषि समूह, विद्यार्थी र कृषकहरुको सिक्ने स्थानको रुपमा चिनिएको हो ।
कृषकहरुलाई नयाँ कृषि प्रविधिको बारेमा शिक्षा दिन गत वर्ष प्रदेश सरकारको २५ लाख रुपैयाँ सहयोग र रामपुर नगरपालिकाको ३१ लाख गरी ५६ लाख रुपैयाँको लागतमा यस क्षेत्रकै सबै भन्दा ठूलो टनेल निर्माण गरिएको थियो । यससँगै पाल्पा सहित अन्य जिल्ला मार्फत पनि कृषि समूह, विद्यार्थी, विभिन्न संघ संस्था, व्यक्तिहरु अवलोकनका लागि आउने गरेका छन् । विगतमा ठूलो साईजको टनेल पोखरा काठमाडांै लगायतका स्थानमा गएर अवलोकन गर्न बाध्य स्थानीय कृषकहरु पनि आफ्नै ठाउँमा अवलोकन गरी सिक्न पाईने भएपछि हर्षित भएका छन् । नयाँ–नयाँ प्रविधि रामपुरमा भित्रिन थालेपछि निर्वाहमूखी कृषि व्यवसाय गरेका कृषकको व्यवसायिक कृषिमा आकर्षण बढ्दै गएको छ । रामपुर नगरपालिका ४ का व्यवसायिक कृषक दिलबहादुर थापाले इजरायलको प्रविधि कृषकहरुलाई मध्यनजर गर्दै रामपुरमा भित्रिनु खुशीको कुरा भएको बताए । उनले भने, ‘विगतमा यहि प्रविधि हेर्नका लागि टाढा जानु पथ्र्यो । यसले कृषिमा लागेका युवाहरुको लागि थप सिक्ने अवसर प्रदान गरेको छ ।’ रामपुर ६ का गोपीकृष्ण ढुङ्गानाले हाईटेक टनेल भनेर सञ्चार माध्यममा त सुनेको र अहिले रामपुर मै देख्न पाउँदा खुशी लागेको बताए । रामपुर ६ कै गंगा बस्यालले पनि प्रविधिको प्रयोग गरी थोरै स्थानमा खेती गरेर राम्रो आम्दानी लिन सकिन्छ भन्ने कृषकहरु हौसला थपेको बताए । टनेलमा हाल नगरपालिकाले आफ्नै पहलमा ३ हजार बढी गोलभेँडाका बिरुवा लगाइएको छ ।
नगरपालिकाले अवलोकन गर्न आउनेलाई सामूहिक एक हजार र व्यक्तिगत रुपमा सर्वसाधारणको लागि एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ टिकट कायम गरेको छ । रामपुर नगरपालिका कृषि शाखाका प्रमुख रामहरि पाण्डेका अनुसार पाल्पासंगै नवलपरासी, गुल्मी लगायतका स्थानबाट टनेल अवलोकनका लागि आएको बताए । उनले भने, ‘कृषिमा यो प्रविधि सहितको ठूलो टनेल पाल्पा र आसपासमा नभएकाले पनि कृषक तथा विद्यार्थीहरु कृषि भ्रमणमा आउने गरेका छन् ।’ पाण्डेले आएका व्यक्ति तथा समुह टनेल भित्रका प्रविधि, त्यसको प्रयोग र फाईदाका बारेमा जानकारी दिदै आएको बताए ।
नगरपालिकाले हाल कृषि शाखाका कर्मचारीहरुको प्राविधिक सहयोगमा एक जना करारमा नियुक्त कर्मचारी मार्फत टनेल भित्र खेती गर्दै आएको छ । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले रामपुरलाई कसरी कृषिमा आत्मनिर्भर गराउन सकिन्छ भन्ने विषयमा नगरपालिका लागि रहेको सन्दर्भमा प्रविधिको प्रयोगमा आकर्षिक गर्न टनेल सञ्चालन गरिएको बताए । उनले भने, ‘नगरपालिकाले सिक्ने स्थलको रुपमा विकास गर्नका लागि कृषि प्राविधिकहरुको सहयोगमा करारमा नियुक्त कर्मचारीहरुलाई परिचालन गरेका छौं ।’ रामपुर क्षेत्रलाई तरकारीमा आत्मनिर्भर बनाउन र कृषकमा नयाँ प्रविधि सिकाएर उत्पादन बढाउन ठुलो क्षमताको टनेल निर्माण गरिएको रामपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपाने बताए ।
रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले नगरपालिकालाई कृषिमा आत्मनिर्भर कसरी बनाउन सकिन्छ भनेर लागि परेको बताए । साथै थापाले १० वटै वडाका कृषकहरुलाई नयाँ प्रविधि सिक्ने स्थानसँगै नगरलाई कृषि पर्यटनको रुपमा विकास गर्ने गरी टनेललाई अघि बढाईएको बताए । यस प्रविधिको टनेल समय समयमा मर्मत सम्भार गरिएको खण्डमा दश वर्षदेखि बीस वर्षसम्म प्रयोग गर्न सकिन्छ । टनेलभित्र विरुवाको लागि उपयुक्त वातावरण तयार गर्न गर्मीयाममा तापक्रम चिसो बनाउने कुलिङ्ग प्याड, पंखा, हावामा सापेक्षिक आद्रता कायम गर्न फगि·, घामको तापक्रम नियन्त्रण गर्न सेड नेट, जाडो याममा तापकक्रम बृद्धि गर्ने, किरा लाग्नबाट बचाउने प्रविधिहरुको प्रयोग गरिएको छ । त्यस्तै विरवाका लागि थोपा सिंचाई प्रविधि तथा मल्चि· प्रविधि प्रयोग गरिएको छ ।