Shittalpati
पत्थरकट्टाको पेशा संकटमा, सिलौटा र जाँतोलाई विस्थापित गर्दै मिक्चर र मिल

रामचन्द्र रायमाझी
पाल्पा । पत्थरकट्टाको पेशा यति बेला संकटमा परेको छ । आधुनिकताका कारण पुख्र्यौली पेशा अगाल्दै आएका पत्थरकट्टाहरुको कुटानी पिसानी गर्ने ढुङ्गाका सिलौटा, लोहोरा, जाँतो, ओखल लगायतका पेशा संकटमा परेका हुन् । सिलौटा र जाँतोलाई विस्थापन गर्दै मिक्चर र मिल गाउँघरमा प्रयोग हुँदै आएपछि पत्थरकट्टाको पुख्र्याैली पेशा संकटमा परेको हो । सिलौटो तथा लोहोरो बनाउँदै आएका जिल्लाका पेशाकर्मीहरु आफ्नो पेशा संकटमा परेको बताएका छन् । जिल्लाको तिनाउ गाउँपालिका ३ दोभान अर्घाछापका ४२ वर्षिय राजेन्द्रप्रसाद पत्थरकट्टाले सिद्धार्थ राजमार्ग अन्तर्गतको दोभान सडक छेउमा बसी सिलौटा, लोहोरा, जाँतो र ओखल बनाई विक्री वितरण गर्दै आएका छन् ।

तर, हिजो आज भने उनको यो पेशा संकटमा पर्न थालेपछि उनलाई दैनिक गुजारा चलाउन पनि धौँ–धौँ पर्न थालेको छ । ढुङ्गालाई मसला पिस्ने सिलौटो बनाउन उनी निकै सिपालु छन् । तर यी सामग्रीले बजार नपाएपछि उनलाई सिलौटो बनाउने पेशा निल्नु न ओकल्नु जस्तै भएको छ । पत्थरकट्टा भन्छन् ‘सिलौटो बनाएरै बुढो भइयो अब अर्को पेशा पनि के गर्ने, यो पेशाले त परिवार धान्नै मुस्किल हुन थाल्यो ।’ आयस्रोतको अन्य उपाय नभएपछि बाबुआमाले गर्दै आएको पुख्र्याैली पेशा अँगालेको उनले स्मरण गर्दै अहिले भने आधुनिकताले पेशालाई विस्थापित गरेको बताए ।


राजेन्द्रले भने ‘बाबुआमाको पालामा मसला पिस्ने सिलौटा, मकै, गहुँ, जौँ, चामल पिस्ने जाँतोको राम्रो व्यापार हुन्थ्यो र जीवीकोपार्जन पनि राम्रैसँग हुन्थ्यो तर, अहिले भने मेसिनको प्रयोगले पेशा नै संकटमा पर्‍यो ।’ बाहिरबाट खरिद गरेर ल्याएको ढु·ालाई काँटछाँट गरेर उनले कलात्मक बनाउँछन् । र, विक्रीका लागि गाउँ–गाउँ पुग्छन् । तर, विक्री हुँदैन । ‘मेहनत गरेर बनाएको सिलौटा, जाँतो बोकेर गाउँ–गाउँ जान्छौँ, तर विक्री हुँदैन,’ उनले भने । बनाएका सिलौटा, जाँतो, ओखलहरु विक्रीका लागि बुटवल, स्याङ्जा, पोखरातिर लैजाने गरेको पत्थरकट्टाले बताए । उनले तीन सयदेखि एक हजारसम्म प्रति सिलौटा विक्री गर्दै आएपनि अहिले यिनीहरुको माग न्यून रहेको छ । माग भएपनि मेहनत गरेर बनाएको सिलौटा एकदमै कम मूल्यमा माग्ने गरेको राजेन्द्रले बताए ।

उनले भने ‘आज भोलि दैनिक १/२ वटा सिलौटा मात्र विक्री हुन्छन्, यसले परिवारलाई मुस्किलसँग साँझा विहानको छाक टार्न समस्या परेको छ ।’ सिलौटो र लोहोरो बनाउन आवश्यक  ढुङ्गा  बगरबाट ल्याउन पनि मुस्किल छ । जिल्ला समन्वय समितिको अनुमति बिना ढुंगा उठाउन नपाउँदा आफुहरुलाई समस्या परेको पत्थकट्टाले गुनासो गरे । सहरीया जनजीवनमा सिलौटोमा मसला पिस्ने प्रचलन हराउँदै गएको छ । तयारी मसलाका धुलो बजारमा आउनु र मसला पिस्नका लागि आधिुनिक मेसिनहरु बजारमा पाइन थालेपछि सिलौटो र लोहोराको माग कम भएको पत्थरकट्टाको भनाई छ । पछिल्लो समय गाउँघरमा जाँतो र सिलौटा भएको घर विरलै पाइन थालेको छ । सिलौटामा मसला पिस्न गाह्रो लाग्ने भएकोले अधिकांश मानिहरुले मिक्चर किनेका छन् ।

ढिकी र जाँतोमा पिस्नेको संख्या पनि एकदमै न्यून छ । ‘जाँतो र सिलौटाको काम छैन भनेर किन्न कोही मान्दैनन्’ राजेन्द्रले भने । बल्लतल्ल किने पनि एकदमै कम मूल्यमा माग्ने गरेको बताउँदै उनले धेरै पटक रित्तो हात घर फर्किन परेको दुःख पोखे । परम्परागत पेशा लोप हुदैं गएपछि स्थानीय सरकारले त्यसको विकल्पका रुपमा कुनै पनि पहल नगरेको जिल्लाका पत्थरकट्टाहरुले गुनासो गरेका छन् । उनीहरुले आधुनिक प्रविधिको विकासले आफुहरुको पेशा संकटमा परेको बताए । तिनाउ गाउँपालिकाका अध्यक्ष ओम घर्ती मगरले भने लोपोन्मूख तथा सिमान्तकृत समुदायहरुको पेशाको संरक्षणका लागि अहिले सम्म कुनै पनि पहल नभएको र आगामी वर्षदेखि संकटमा पर्न लागेको पेशाको संरक्षणका लागि विशेष योजना बनाएर अगाडि बढ्ने बताए । उनले वडा ३ दोभानको अर्घाछापमा केही पत्थरकट्टाहरुले जिवीकोपार्जनका रुपमा सिलौटा, जाँतोहरु बनाउँदै आएको र उनीहरुको आवश्यक मागलाई छिट्टै नै स्थानीय सरकारले सम्बोधन गर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update