
रमेश विश्वकर्मा
गुल्मी, गुल्मी जिल्ला अदालतले मुद्दा तथा अन्य विषयको वार्षिक कार्य योजनाले निर्धारण गरेको लक्ष्य एवम् प्रगतीको सम्बन्धमा पत्रकारसँग अन्तक्र्रिया समिक्षा कार्यक्रम गर्दै सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को लक्ष्य एवम् प्रगती सार्वजनिक गरिएको गुल्मी जिल्ला अदालतका श्रेष्तेदार उपसचिव भिम प्रसाद भुसालले जानकारी दिए । उनले अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरी आएका १ सय ६६ थान मुद्दा र नयाँ ३ सय ९४ थान मुद्दा गरि कुल ५ सय ६० थान लगत कायम भएको बताए । लक्ष्य अनुसार पुराना १ सय ६६ सबै र नयाँ दर्तामध्ये १ सय ९७ गरि जम्मा ३ सय ६४ थान मुद्दा फर्छ्यौट गर्नुपर्नेमा जम्मा ३ सय ७१ थान मुद्दा फर्छ्यौट भई लक्ष्यभन्दा बढी अर्थात १०२.२० प्रतिशत मुद्दा फर्छ्यौट भएको उनले जानकारी दिए । उनले १ सय ८९ थान मुद्दा वाँकी रहि यश आर्थिक वर्षमा जिम्मेवारी सरि आएको बताए । जिम्मेवारीका बाकी रहेका २ थान मुद्दा पनि १८ महिना भित्रैका रहेको उनले बताए ।
दर्ता भएका मुद्दा मध्ये सरल मार्ग समूहमा ३ सय २९, सामान्य मार्गमा ६४ र विशेष मार्ग समूहमा १ थान मुद्दा दर्ता हुन आएको अदालतले जनाएको छ । गुल्मी जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् । नयाँ ३ सय ९४ थान मुद्दा मध्ये सम्बन्ध बिच्छेदका १ सय ९४ थान मुद्दा दर्ता भएका छन् । जसमध्ये पुरुषले दर्ता गरेका मुद्दाको संख्या ३३ रहेको छ । जसमध्ये १४ थान मुद्दा फर्छ्यौट भएका छन् । १९ थान मुद्दा बाँकी रहेका छन् । त्यस्तै सम्बन्ध बिच्छेदका लागि महिलाले दर्ता गरेका मुद्दाको संख्या १ सय ६१ थान रहेका छन् । जसमध्ये १ सय २६ थान मुद्दा फर्छ्यौट भएको बताइएको छ ।
थुनुवा मुद्धाको सख्या ५६ थान रहेकोमा २८ थान फर्छ्यौट भई २८ थान बाँकी रहेको अदालतले जनाएको छ । अदालतको अभिलेख शाखामा २१ हजार ७ सय ९२ थान मिसिल रहेका छन । करीव १३ हजार मिसिल कम्प्युटरमा प्रविष्ट गरिएको छ । कार्ययोजना बमोजिम कागज सडाउने काम सबै सम्पन्न भएको पनि अदालतले जनाएको छ । फैसला कार्यान्वयन तर्फ जिम्मेवानामा सहित आएका अघिल्लो आर्थिक वर्षका २७ थान र नयाँ दर्ता भएका ४५ थान गरी जम्मा लगत ७२ मध्ये असार मसान्त सम्म लक्ष्य अनुसार ५३ थान फर्छ्यौट भएर जम्मा १९ थान मुद्दा बाँकी रहेका छन् ।
गुल्मी जिल्ला अदालतले फैसला कार्यान्वयन तर्फ जरिवानामा अघिल्लो आर्थिक वर्षको १ करोड १६ लाख २९ हजार ९ सय ६५ रुपैयाँ ५५ पैसा र नयाँ वर्ष ५ करोड २६ लाख १४ हजार ८ सय ४७ रुपैयाँ ५० पैसा गरी कुल लगत ६ करोड ४२ हजार ४४ हजार ८ सय १३ रुपैयाँ ५ पैसा बाट जरिवाना १९ लाख २१ हजार ४ सय ५४ रुपैयाँ ३६ पैसा फर्छ्यौट गरेको छ भने ६ करोड २३ लाख २३ हजार ३ सय ५८ रुपैयाँ ६९ पैसा बाँकी रहेको गुल्मी जिल्ला अदालतले पत्रकारसँगको कार्यक्रममा जानकारी गराएको छ । साथै कैद तर्फ जिम्मेवारी सरी आएको लगत ४ सय ३७ बर्ष ५ महिना २६ दिन र नयाँ वर्षको ४ सय ९१ वर्ष ३ महिना ६ दिन गरी जम्मा लगत ९ सय २८ वर्ष ९ महिना २ दिन रहेको थियो । जसमध्ये मध्ये ४ सय ७१ वर्ष ५ महिना १ दिनको कैद फर्छ्यौट भएको छ भने बाँकी कैद ४ सय ५७ बर्ष ४ महिना १ दिन बाँकी रहेको अदालतले जनाएको छ । दण्ड जरिवानाको लगत सबै सफ्टवेयरमा प्रविष्ट गरिएको अदालतले जानकारी दिएको छ । वार्षिक कार्य योजनामा उल्लेख भएका अन्य व्यवस्थापकिय कार्यहरु तोकिएको समयमा सम्पन्न गरेको अदालत श्रेष्तेदार भुसालले बताए ।
अदालतको लगत लागेका र असुल हुन बाँकी रहेका व्यक्तिहरुलाई सरकारी सेवा सुविधा रोक्का राख्न सम्वन्धित निकायमा पत्राचार समेत गरिएको छ । अदालतको दैनिक काम वयान, वकपत्र, पत्राचार लगायतका सबै कामहरु कम्प्युटर मार्फत गर्ने गरिएको पनि अदालतले जनाएको छ ।
असहाय तथा थुनुवा मुद्धाहरुमा वैतनिक कानून व्यवसायी नियुक्त गरी असहाय तथा थुनुवाको तर्फबाट निशुल्क रुपमा वकपत्र तथा वहस पैरवी गरी प्रतिरक्षा गरि दिने एवं वैतनिक वकिल बाट साप्ताहिक रुपमा कारागार भ्रमण हुने गरी काममा अधिकतम प्रयोग गरिएको अदालतले जनाएको छ ।
अदालतबाट प्रदान गरिने निःशुल्क कानुनी सहायताले असहाय, अशक्त तथा थुनुवा मुद्दाका पक्षहरुलाई सेवा प्रवाहमा सहजता आएको र यो सेवाको सुविधा अझै बढी सहज रुपमा सम्बन्धित पक्षले सदुपयोग गर्नुपर्ने अदालतको अनुरोध रहेको बताए । अदालतले कोरोनाका कारण गरिएको लकडाउनको समयमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर काम गरेको थियो । गत असार महिनामा मात्र ५९ थान मुद्दा फर्छ्यौट भएको अदालतले जनाएको छ ।