Shittalpati
संक्रमण अति प्रभावित १४ जिल्लाका विद्यालय नजान अपिल

काठमाडौं, सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएकाले अति प्रभावित १४ जिल्लाका विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विहीबार अपिल जारी गर्दै पछिल्ला दिनमा संक्रमण बढ्दै गएकाले काठमाडौँ, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङका विद्यालयलगायत भीड हुने ठाउँमा नजान आग्रह गरिएको छ ।

‘ती जिल्लाका बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवा अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसाय, ७ः०० बजेपछि सबै रेष्टुरेष्ट तथा क्लब, खेलकूद, जीम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलमा सहभागी नभइदिन हुन अनुरोध छ’, अपिलमा भनिएको छ । उनले अबका दिन संक्रमण प्रभावका हिसाबले निकै नै चुनौतिपूर्ण हुनसक्ने भएकाले सबै नागरिक तथा सरोकारवाल निकाय सचेत हुँदै संवेदनशिल रुपमा जिम्मेवार बन्न पनि आग्रह गरेका छन् ।

अपिलमा जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । उनले सबैलाई संक्रमणबाट जोगिन संवेदनशिल भइदिन र ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार बनिदिन अनुरोध गरेका छन् । अपिलमा सबै अस्पतालले अनिवार्य रुपमा ज्वरो (फिवर) क्लिनिक सञ्चालन गर्न भनिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले विदेशी नागरिकलाई पिसीअर नेगेटिभ आएपछि मात्र होटलमा बास राख्न अनुरोध गरे । मन्त्रालयले नियमित रुपमा अस्पतालमा सेवा लिन आइरहेका सेवाग्राहीलाई कोभिड–१९ सङ्मक्रण पुष्टि भएका आधारमै मात्र अन्य अस्पतालमा पठाउने गरेर अनावश्यक दुःख हुने काम नगराउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले सबै सरकारी अस्पतालले कम्तीमा ५० प्रतिशत शय्या कोभिड–१९ संक्रमितलाई व्यवस्थापन गर्न र तोकिएअनुसार निःशुल्क सेवा दिन पनि अपिल गरे । मन्त्रालयले बालबालिका, गर्भवती, सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई कोभिड–१९ को परीक्षण तथा उपचारमा उच्च प्राथमिकतामा राख्न अनुरोध गरेको छ । –रासस

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update