गुल्मी, जिल्लामा राष्ट्रिय जनगणना सचेतना गोष्ठी आयोजना गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को सन्दर्भ पारेर जिल्लास्तरीय सचेतना गोष्ठी आयोजना गरिएको हो । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी सञ्चालन हुने जनगणनाको बारेमा जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउन सचेतना गोष्ठी सञ्चालन गरिएको जिल्ला जनगणना अधिकारी मदनप्रसाद पोखरेलले बताए । आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउन जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रमुख, पत्रकार लगायतलाई सहभागी गराएर सचेतनामूलक गोष्ठी सञ्चालन गरिएको हो । गोष्ठीमा जनगणना के हो ? यो किन गरिन्छ ? जनगणनाबाट प्राप्त हुने तथ्याङ्क प्रयोग, जनगणनाको इतिहास, आगामी जनगणनाको विशेषता लगायतका विषयमा जानकारी गराइएको छ । गोष्ठीमा सहभागीहरुले राष्ट्रिय जनगणनामा गणनामात्र लिएर हुदैंन त्यसबाट भएका उपलब्धीको सदुपयोग पनि गर्नुपर्नेमा जोड दिएका छन् । जनगणनाबाट देखिएका विविध सामाजिक, आर्थिक पक्षका समस्याहरु नियाल्दै सोही अनुरुप विकासका कामहरु लिएर समृद्ध नेपाल बनाउनुपर्ने उनीहरुको धारणा छ । जनगणना संकलन गर्दा सबै क्षेत्र र पक्षहरु समेटिएर व्यवस्थित, मर्यादित र भरपर्दो बनाउनु पर्नेमा सहभागीहरुले जोड दिए ।
१० वर्षको अन्तरालमा गरिने जनगणना अन्तर्राष्ट्रिय स्तरको नमुना लायक व्यवस्थित बनाउन उनीहरुले आग्रह गरे । जिल्ला जनगणना संयोजक तथा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले १२ औं जनगणना–२०७८ लाई सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताईन । उनले जिल्लाका सम्पूर्ण नागरिकहरुलाई सभ्य तरिकाले आफ्नो सही तथ्याङ्क दिन आग्रह गरिन् । राष्ट्रिय जनगणना–२०७८ का लागि सुपरिवेक्षक र गणक परिचालन गरिने भएको छ । जिल्लामा जनगणनाका लागि १सय १ जना सुपरिवेक्षक र ४ सय ३४ जना गणक परिचालन हुने छन् । गणकले तथ्याड्ढ संकलन गर्नुभन्दा पहिले सुपरीवेक्षकले घर सर्भे गर्ने छन् । सुपरीवेक्षकले विस २०७८ साल वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्ने छन् । गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्ने छन् ।


