Shittalpati
जितगढी र बटौली जोड्ने गरी युद्ध संग्राहालय बन्दै

रासस, बुटवल, रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदास्थल जितगढी र सांस्कृतिक शहर पुरानो बुटवल (बटौली) लाई जोड्ने गरी युद्ध संग्राहालयको निर्माण शुरु गरिएको छ ।
ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालीन नेपाल–अंग्रेजयुद्ध ताकाको झल्को दिनेगरी निर्माण गर्न लागिएको जितगढी–बटौलीयुद्ध संग्राहालयको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बुधबार शिलान्यास गरेका छन् । राष्ट्रिय स्वाभिमान, पहिचान र शानका रुपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रुपमा समेत लिइँदै आएको छ । सो अन्तर्गतको एउटा महत्वपूर्ण कामका रुपमा संग्राहालयलाई लिइएको उनले बताए । प्राचीन शहरले जन्माएका सबै उपशहरलाई जोड्ने एउटै पर्यटन सर्किट बनाइने जनाउँदै उनले बु्टवल चक्रपथ, तिनाउ–दानब कोरिडोर र छिमेकिका पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोडिने बताए ।

उपमहानगरपालिकाले बनाएको एकीकृत शहरी विकास गुरुयोजनामा रहेको पर्यटनअन्तर्गत उक्त संग्राहालय छ । बुटवलमा जनप्रतिनिधि निर्वाचित भएपछि आवधिक र दीर्घकालीन महत्वका योजना तय गरिएका छन् । अबको ५० वर्षपछिको बुटवलको जनघनत्वलाई अनुमान गरेर एकीकृत शहरी विकासको गुरुयोजना बनाइएको छ । वडा नं १ को भैरव मन्दिर नजिकै रहेको उपमहानगरको करीब तीन कठ्ठा जग्गामा उक्त संग्राहालय बन्ने छ । संग्राहालय चार तलाको बन्ने छ । पहिलो, दोस्रो, तेस्रो तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाका परिकारसमेत पाइने गरी क्याफे रहने छ । यस्तै तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिनो राखिएको सोभिनियर शप रहने छ ।

करिब छ करोड ८२ लाख ५० हजार २ सय ५६ बराबरको लागतमा उक्त संग्राहालय निर्माण हुन लागेको हो । निर्माण कार्यका लागि उपमहानगर र निर्माण कम्पनीका बीचमा गत माघ १० गते सम्झौता गरिएको थियो । निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रतिनिधि इञ्जिनीयर प्रभाकर लामिछानेले तोकिएको समयअगावै निर्माण सक्ने गरी काम गरिने प्रतिवद्धता जनाए । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले निर्माणका लागि आवश्यक पर्ने समन्वय र सहकार्यमा उपमहानगरले कुनै कसुर बाँकी नराख्ने जनाउँदै निर्माण कम्पनीको प्रतिवद्धताको सराहना गरे ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update