रामचन्द्र रायमाझी
पाल्पा, बजारमा अत्यावश्यक वस्तुको भाउ महङ्गीकोपछि आम उपभोक्ता यसको मारमा परेका छन् । कोरोना महामारीका बेला गरिएको लकडाउनको मौका छोपी व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि गरेपछि उपभोक्ता मारमा परेका हुन् ।
बजारमा सरकारी अनुगमन तथा नियमनकारी निकाय उजुरी आएपछि मात्रै बजारमा पुग्ने अन्यथा नजाने गरेकाले व्यापारीले हरेक सामानमा मनलाग्दी भाउ भन्न थालेका छन् । कोरोना महामारीका बेला थोक तथा ठूला व्यापारिक फर्मले उपभोग्य वस्तु मनलाग्दी भाउमा विक्री गरेको पाइएको छ । ती फर्मले तोकिएको अधिकतम खुद्रा मूल्यभन्दा बढी मूल्य लिएर खाद्यवस्तु खुलेआम विक्री गरिरहेको उपभोक्ताको गुनासो छ । अहिले बजारमा चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको मूल्य बढेको छ । बजारमा खाद्यान्नको भाउ बढ्नुको कारण खुद्रा व्यापारी थोक आयातकर्तालाई देखाउने गरेका छन् भने थोक आयातकर्ताले उद्योगबाट आउँदै भाउ बढेको बताएका छन् । आफूहरूले सामान ढुवानी गर्दा भाडा धेरै तिर्नुपरेको भन्दै मूल्य बढाएर बेचेको स्थानीय व्यापारीहरूले नै स्वीकार गरेका छन् । खाद्यान्न पर्याप्त भएकाले मूल्य नबढेको सरकारले दावी गरे पनि बजारमा भने उपभोग्य वस्तुको मूल्य अकाशिएको छ । सम्बन्धित निकायले यसलाई गम्भीरताका साथ नलिदा उपभोक्ता मारमा परेका छन् । स्थानीय प्रशासन, घरेलु कार्यालय, खाद्य तथा गुण प्रविधि नियन्त्रण कार्यालय, उद्योग वााणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, स्थानीय तहको हकमा उप–प्रमुख तथा उपाध्याक्षको नेतृत्वमा नियमित रुपमा बजार अनुगमन गर्ने कानुनी प्रावधान भएपनि त्यसको बेवास्ता गरिएको छ । जसको परिणाम उपभोक्ताले भोग्नु परेको छ । १० वर्ष अघि स्याङ्जाबाट तानसेन छिरेकी सीता थापालाई अहिले भान्सा चलाउनै हम्मे हम्मे भएको छ । बजारमा उपभोग्य वस्तुको भाउ अचाक्ली बढेपछि भान्सा चलाउनै गाह्रो भएको उनको गुनासो छ । उनी भन्छिन् ‘जति कमायो खानै ठिक्क, बचत त कहाँ हो, कहाँ ।’ यस्तै तानसेनको फुटपाथमा तरकारी विक्री गरेर दैनिक घर खर्च चलाउँदै आएकी मेनुका नेपालीको कथा पनि उस्तै छ । विहान बेलुका व्यापार गरेर चार जनाको परिवार पाल्दै आएकी उनले देखेको सपना प्रत्येक विहान–बेलुका भान्सामा नै अकाल मर्छ । निरन्तर चुलो बाल्नु र बालबच्चा हुर्काउनु कि सपना पूरा गर्नु, उनीसँग विकल्प छैन । उनले व्यापार गर्न थालेको पनि १० वर्ष भएको छ । यस बिच उनले परिवार पाल्ने मात्र गरेकी छन् । यो अवस्था थापा र नेपालीको मात्र होइन, मध्यमवर्गीय नेपाली सबैको साझा समस्या हो । कमाएको पैसा घर खर्च चलाउनमै सकिन्छ । बचाएर घर जग्गा, उद्योग धन्दा वा व्यापार व्यवसाय विस्तार गर्ने सम्भावना कमै हुन्छ । चैत यता थापा र नेपालीले मात्र होइन देशवासी जो कोहिले मह·ीको चर्को कहर बेहोरीरहेका छन् । कोरोना महामारीका कारण सरकारले चैतदेखि साउनसम्म गरेको लकडाउनका कारण आयात ठप्पै थियो । कमाए जति पैसा अवैध रुपमा भित्रिएको इन्धन र खाद्या सामग्री तेब्बर÷चौबर हालेर किन्दै ठिक्क भो कालो बजारी थेग्न क्रण काढ्नु पर्ने बाध्यता पनि प¥यो धेरैलाई, यदि हुँदाहुँदै पनि उपभोक्ताले सहेकै थिए । लकडाउन खुल्ला, खुलेर कालो बजारी हट्ला र पुरानै बजार भाउमा फर्केला भनि आशा गरेका उपभोक्ता लकडाउन खुलेर महामारी केही सहज त भयो तर बजार भाउ अहिले पनि चर्को छ ।
लकडाउन अघि प्रतिकिलो १ सयदेखि १ सय १० रुपैयाँमा पाइने मुसुरो दालको खुद्रा मूल्य अहिले १ सय ३० भन्दा माथि पुगेको छ । त्यसरी नै मास, रहर र मुमको दालको पनि मूल्य बढेको छ । मासको दाल प्रतिकिलो १ सय ४० बाट १ सय ८०, रहरको दाल प्रतिकिलो १ सय ४० बाट १ सय ७० तथा मुमको दाल प्रतिकिलो १ सय ५० बाट बढेर २ सय रुपैयाँ पुगेको छ । हरेक ब्राण्डको चामलमा पनि प्रतिबोरा १ सय रुपैयाँसम्म बढाएर व्यापारीले बेच्ने गरेका छन् । अहिले बजारमा सनफलावर तेल प्रतिलिटर २ सय २०, भटमासको तेल २ सय प्रतिलिटरमा व्यापारीले बेच्ने गरेका छन् । यी बाहेकका अन्य उपभोग्य वस्तुमा पनि यसै अनुपातमा मूल्य बढेको छ ।