
पाल्पा, माथागढी गाउँपालिका ४ झडेवामा रहेको कर्णधार प्राथमिक विद्यालयको ३८ औ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । उत्सवको प्रमुख अतिथि तथा ४ का वडा अध्यक्ष मधु पराजुलीले उद्घाटन गरेका छन् । उत्सवको उद्घाटन गर्दै अध्यक्ष पराजुलीले विद्यालयको चौतर्फी विकासका लागि सबै पक्ष एक जुट हुनुपर्ने बताएका छन् ।
उनले बर्षाको बेलामा क्षति पुगेको भवन निर्माण गर्न वडाबाट पहल भईरहेको जानकारी दिए । कार्यक्रममा विशिष्ट अतिथि शिक्षा शाखाका संयोजक गजेन्द्र पन्थी र कार्यपालिका सदस्य सावित्रा पन्थीले बिद्यार्थीहरुलाई बालमैत्री बातावरणमा अध्यापन गराउन गाउँपालिकाले विभिन्न कार्यक्रमहरु अघि सारेको बताए । उनीहरुले स्थानीय पाठ्यक्रम निर्माण गरी पठन–पाठन शुरु गरेको बताएका छन् । कार्यक्रममा जग्गादाता हर्ष बहादुर दर्लामी, इलाका हुलाकका प्रमुख चन्द्रदेव पन्थी, फन बहादुर दर्लामी, शंकर दर्लामी लगायत विद्यालयको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शुशिला रानाले १३ लाख ८७ हजार ८ सय ३७ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले विद्यालयको भावी कार्यक्रम तथा योजनाहरुमा पक्की भवन निर्माण, शुद्ध पिउने पानीको ब्यवस्था, शैक्षिक सामग्री र बाल पाठ्यपुस्तकको ब्यवस्था, विद्यालय घेराबार, क्षती पुगेको पक्की भवन मर्मत संम्भार गर्ने र कम्प्युटर कक्ष जडान गर्ने रहेको बताए । सोही अवसरमा विद्यालयलाई आफ्नो स्वर्गीय बुबा र आमाको नाममा ६ रोपनी ३ आना २ दाम २ पैसा निशुल्क जग्गा प्रदान गर्ने हर्ष बहादुर दलार्मी र लोकमायाँ दर्लामीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । यसै गरि विद्यालयको पूर्व शिक्षक मैनादेवी जर्घाले ५ हजार रुपैयाँ र डिलबहादुर दर्लामीले स्वर्गीय बुबा तुलबहादुर दर्लामी र आमा श्याम कुमारी दर्लामीको सम्झनामा २ हजारको अक्षयको स्थापना गरेका थिए । त्यस्तै विद्यालयको क्षति भएको भवन निर्माण गर्न जापानी समाजसेवी ओ.के. बाजेले ११ लाख रुपैयाँको चेक विद्यालयलाई प्रदान गरेका छन् ।
कार्यक्रममा माथागढी गाउँपालिकाको शिक्षा शाखाबाट एक थान ल्यापटप, प्रिन्टर, टेवल विद्यालयलाई प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मरबहादुर चौहानको अध्यक्षता, शिक्षिका तुलमायाँ रासको स्वागत, शिक्षक भिमबहादुर थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।