Shittalpati
नेपाली बाबाको निधन, पशुपतिमा अन्त्येष्टि

काठमाडौं । नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ । दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित उनको सोमबार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो । पैँतालीस वर्षअघि देखि चिया र पानी मात्र सेवन गरी साधना गरेकाले हड्डीको समस्या देखिएको चिकित्सकको भनाइ रहेको आश्रमले जनाएको छ । त्यहाँ घिमिरेको नेतृत्वमा ३३ रोपनी क्षेत्रफलमा नौतले विन्ध्यवासिनी मन्दिरसहित आश्रम बनिरहेको छ । विश्वमा शीतयुद्ध चलिरहेका बेला विसं २०४३ अघि घिमिरेले विन्ध्यवासिनीमा वैदिक विधिअनुसार ११ जना ब्राह्मणबाट एक महिनासम्म यज्ञ गराएका थिए । महायज्ञका लागि पशुपतिनाथबाट पोखरासम्म उनले पैदल यात्रा गरेका थिए । महायज्ञ सकेर घिमिरे पोखराबाट काठमाडौँ पनि पैदल यात्रा गर्दै आएका थिए । शीतयुद्धबाट विश्व शान्तिका लागि त्यो महायज्ञले योगदान गरेको विश्लेषण त्यसबेला गरिएको थियो । विसं २०४३ मा संयुक्त राष्ट्र सङ्घले समेत शान्ति वर्षका रूपमा घोषणा गरेको थियो ।

विश्व शान्ति अभियानमा उनको महत्वपूर्ण योगदान रहेको विन्ध्यवासिनी आध्यात्मिक संघका पूर्वाध्यक्ष केशवप्रसाद चौलागाइँले राससलाई जानकारी दिए । विसं २०४५ मा उहाँले पूर्व मेचीबाट पश्चिम महाकालीसम्मको पदयात्रा गरेका थिए । विसं २०४८ मा मुक्तिनाथबाट कन्याकुमारीसम्मको पैदलयात्रा पनि उहाँले सम्पन्न गर्नुभएको संघले जनाएको छ । कन्याकुमारीबाट हिमालयसम्मको क्षेत्रलाई आर्यावर्तका रूपमा वैदिक शास्त्रमा व्याख्या गरिएको छ । विसं २०६१ मा उनले देशमा जारी द्वन्द्व अन्त्यका लागि संघको कार्यालय सतुङ्गलमा गणपति महायज्ञसमेत आयोजना गरेका थिए । साधक घिमिरेले यज्ञ र पदयात्रामा भारतवर्षमै श्रेष्ठता कायम गरेको जनाइएको छ । उनको आजबिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको श्रीमती, दुई छोरा र एक छोरी छन् । बनारसमा साधनाका लागि बस्दा उनी नेपाली बाबाका नामले चिनिएका थिए । त्यसपछि उनी नेपाली बाबा उपनामले प्रख्यात भए । –रासस

प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update