पाल्पा । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो ।
संयुक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्ट्राचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको थियो । दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भ्रष्टाचार विरुद्ध क्रियाशिल संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल लगायत सरोकारवाला निकायले आज विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको जनाइएको छ । अन्तर्राष्ट्रिय संघसंस्थाले गरेको अध्ययनले पछिल्लो समय विकासोन्मुख मुलुकमा भ्रष्टाचार बढ्दै गएको देखाएको छ । नेपालमा पनि भ्रष्टाचार निवारणका लागि संवैधानिक निकायका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन भएपनि भ्रष्टाचार नियन्त्रणमा अपेक्षा अनुरुप प्रगती हुन सकेको छैन । भ्रष्टाचार एक वा एक भन्दा बढी व्यक्ति वा संस्थाका गतिविधिसँग जोडिएको विषय भएकाले यसलाई तोड्न प्रभावकारी रुपमा जनचेतना बढाउनुपर्नेमा नेपालका सम्बन्धित निकायहरुले जोड दिइएका छन् । उनीहरुले भ्रष्टाचार विरुद्ध सबै एक जुट भए भ्रष्टाचारको सञ्जाल जरैदेखि उखेल्न सक्ने भन्दै भ्रष्टाचार रोक्ने अभियानमा सहयोग गर्न सबैसँग अपिल समेत गरेका छन् ।