बुटवल । बुटवलमा निषेधाज्ञा तोडेरै विरोध प्रदर्शन गरिएको छ । प्रदेश नं ५ को राजधानी दाङको भालुबाङ सार्ने प्रस्तावको विरोध गर्दै रुपन्देहीमा निषेधाज्ञा नै तोडेर विरोध गरिएको हो । जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले बुटवलका मुख्य स्थानलाई निषेधित क्षेत्र घोषणा गरे निेषेधाज्ञा तोडेर आन्दोलनकारीहरु सडकमा उत्रेका छन् । आइतबार बिहान चौराहाबाट ठूलो संख्यामा आन्दोलनकारीहरु पुष्पलाल पार्कमा पुगेका छन् । सुरक्षा व्यवस्था कडा पारिएको भए पनि बुटवलमा भएको अस्थायी राजधानीलाई स्थायी नै बनाउनु पर्ने मागसहित संयुक्त संघर्ष समिति सडकमा उत्रिएको हो ।
रुपन्देही प्रशासनले ५ जना भन्दा बढी जम्मा हुन नपाउने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । स्थानीय प्रशासनले यही असोज १८ गते आइतबार बिहान ६ बजे देखि २१ गते साँझ ६ बजे सम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोक सम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ ।


