पाल्पा (एजेन्सी) । सरकारले बैंक तथा वित्तीय संस्था ऐन–२०६३ को परिच्छेद १० को दफा ६८ र ६९ मा बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिन सक्ने व्यवस्था गरेसँगै पछिल्लो समय बैंकहरु एक आपसमा गाभिन थालेका छन् । संस्थालाई मजबुद र प्रभावकारी बनाउन बैंकहरु मर्जर प्रक्रियामा अगाडि बढेका छन् । यसै क्रममा पूँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटड एक आपसमा मर्ज भएका छन् । उनीहरुले प्रभु क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबारको शुभारम्भ गरेका छन् । तत्कालिन समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एलपी भानु शर्माले बैंक एक आपसमा मर्ज भएपछि पुँजी बजारको व्यक्ति मात्रै नभई समाज नैं समृद्धि बन्ने बताए । प्रभु गु्रपका अध्यक्ष देवीप्रकाश भट्टचनले मर्ज भएपछि कोभिड १९ को महामारीको कारण भएको आर्थिक मन्दिको वातावरणलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले देशको राजनीतिक अवस्थाले आर्थिक क्षेत्रमा प्रभाव पर्ने बताउँदै आर्थिक क्षेत्रको विकासका लागि स्थीर सरकार र आर्थिक क्षेत्रप्रति सकारात्मक र बलियो धारणा राख्ने सरकार हुनुपर्ने बताए ।
मर्जर कमिटिका संयोजक तत्कालिन प्रभु क्यापिटलका अध्यक्ष विनोद थकालीले प्रभु ब्राण्ड नेपालभित्र मात्रै नभएर संसारभर फैलिइरहेको अवस्थामा इतिहास रच्दै अघि बढ्दै प्रभु क्यापिटल भन्ने नाराका साथ प्रभु क्यापिटल लिमिटेड अगाडि बढेको बताए । उनले मर्जर पश्चात क्यापिटलको अधिकृत पुँजी १ अर्ब र चुक्ता पूँजी .८१.७१ करोड भई ठूलो आकारको पूँजी सहित एक सवल संस्थाको रुपमा प्रतिस्पर्धी सेवा प्रदान गर्दै पूँजी वजारको विकासलाई टेवा पुयाउने उद्देश्य सहित मर्जर गरिएको बताए ।