पाल्पा, श्रीनगर यातायात सेवा कम्पनी प्रालिको दोस्रो अधिवेशन तथा आठौं वार्षिक साधारण सभा आइतबार तानसेनमा भएको छ । लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले सभाको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाले यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र सेवामुखी बनाउन कम्पनीले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए । उनले संस्थाले सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत उदाहरणीय भूमिका निर्वाह गरेको उल्लेख गर्दै आगामी दिनमा पनि यात्रु सेवा, व्यवसायीको हित र सामाजिक सेवामा अझ प्रभावकारी ढंगले अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । सांसद रानाले संस्थाको नेतृत्व गर्ने व्यक्तिमा लोकतान्त्रिक सोच, पारदर्शिता, इमान्दारिता र क्रियाशीलता अनिवार्य गुण हुनुपर्ने बताए । यी चार आधारभूत चरित्र भएमा मात्र संस्थामा विश्वसनीयता, सुशासन र दिगोपना कायम रहने उनको भनाइ थियो ।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्की, पाल्पा व्यापार संघका अध्यक्ष विष्णुबहादुर कार्की, पाल्पा उद्योग वाणिज्य संघकी वाणिज्य उपाध्यक्ष रञ्जनाकुमारी थापा अर्याल, युनाइटेड मिसन अस्पतालकी निर्देशक रचेल कारख, लुम्बिनी मेडिकल कलेजका कम्पनी सचिव कृष्ण पराजुली, नेपाल रेडक्रस सोसाइटी पाल्पाका सभापति बाबुराम कार्की, जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख राजेन्द्र खड्का, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना लगायतले अधिवेशन तथा साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सोही अवसरमा कम्पनीले विभिन्न व्यक्ति तथा संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । दुर्घटनामा परी हात गुमाएका चालक फस्टबहादुर आलेलाई ५ लाख रुपैयाँ, मिर्गौला रोगबाट पीडित संस्थाका सदस्य यमबहादुर बूढाथोकीलाई ५० हजार रुपैयाँ, रक्तसञ्चार सेवा (ब्लड बैंक) सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी पाल्पालाई ५० हजार ५ सय ५५ रुपैयाँ तथा ट्राफिक व्यवस्थापनमा योगदान पुर्याउँदै आएका नागरिक ट्राफिक टोपप्रसाद श्रेष्ठलाई ५ हजार रुपैयाँ सहयोग गरिएको कम्पनीका सदस्य सचिव भविन्द्र गौतमले शितलपाटीलाई जानकारी दिए । कार्यक्रममा १० जना उत्कृष्ट चालक तथा संस्थामा लामो समयदेखि अविच्छिन्न रूपमा कार्यरत तीन जना कर्मचारीलाई सम्मान समेत गरिएको थियो । सभामा कम्पनीका कोषाध्यक्ष किरण चित्रकारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै विभिन्न विभागका प्रगति प्रतिवेदन समेत प्रस्तुत गरी छलफल गरिएको थियो । कम्पनीका अध्यक्ष डिलबहादुर ढुंगानाको अध्यक्षता, सञ्चालक लक्ष्मण पाण्डेको स्वागत, सदस्य सचिव तथा कार्यालय प्रमुख भविन्द्र गौतमको सञ्चालनमा उद्घाटन सत्र कार्यक्रम भएको थियो ।


