काठमाडौँ, पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण मन्त्रालयले बाघको पछिल्लो गणना सार्वजनिक गरेको हो ।
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सार्वजनिक गर्नुभएको २०८२ को गणनाअनुसार कुल बाघको सङ्ख्या मुलुकभर ४२९ पुगेको हो । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १४५, बर्दिया राष्ट्रिय निकुञ्ज ११२, पर्सा राष्ट्रिय निकुञ्जमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० बाघ छन् ।
पछिल्ला दिनमा संरक्षण क्षेत्र र बासस्थानमा भएको सुधार, सिकार प्रजातिको वृद्धिलगायतका आधारमा बाघको सङ्ख्या थपिएको बताइएको छ । नेपालमा प्रायः चार वर्षमा बाघ गणना गरिन्छ । सन् २०२२ को बाघ गणनाअनुसार मुलुकमा बाघको सङ्ख्या ३५५ थियो । सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८, त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ थिए । मन्त्रालयले २००९ देखि हरेक चार वर्षमा बाघ गणना गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् २०१० मा १२१, सन् २०१४ मा १९८ र २०१८ मा २३५ रहेको थियो ।
प्रत्येक वर्ष जुलाई महिनाको २९ मा बाघ दिवस मनाइन्छ । सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो । तत्कालीन समयमा बाघको सङ्ख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक बासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो । बाघ स्वस्थ पारिस्थिकीय प्रणालीको सूचक र प्राकृतिक खाद्य शङ्खलाको उच्च तहमा रहेको महत्त्वपूर्ण प्रजाति हो ।


