Shittalpati
पुष्पलाल र बीपीको  भजन मात्र गाउँने हो वा कर्म अनुकरण गर्ने ?

गोविन्द भट्टराई

 नेपालमा हरेक वर्ष साउन महिनाको ६ गते बीपी र ७ गते पुष्पलालको फोटोमा माल्र्यापण गरेपछि नेताहरूले उहाँहरूको योगदानबारे चर्चा गर्दै आफू उहाँहरूले देखाएको मार्गमा हिंड्ने प्रतिवद्धता व्यक्त गर्दछन् । कार्यक्रमस्थलबाट बाहिरएपछि ती नेता वा कार्यकर्ताले बीपी र पुष्पलाललाई बिर्सने गरेकाले नै देशमा विकृति, विसंगति मौलाएको प्रष्ट छ । शासन सत्ताको नेतृत्व परिवर्तन लगत्तै नागरिकमा आसा जागेपनि काममा इमान, जमान होईन स्वार्थभाव बढेको छ । समाजमा सद्भाव, सदाचार हराएको छ । यो क्रमः कहिले टुट्ला ? सवाल गम्भीर छ ।

तथ्य प्रष्ट छ, मनमोहन अधिकारी, मदन भण्डारी जस्ता पुष्पलालका राष्ट्रभक्त अनुयायी तथा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता बीपीका अनुयायी  निस्वार्थी नेता नागरिकले स्मरण गरे पनि देशले पाएको छैन् । असल कर्मकै कारण बीपी र पुष्पलाल आजपर्यन्त साझा नेताको रुपमा स्थापित भएका छन् । यसर्थ बीपी र पुष्पलाल सम्पूर्ण नेपालीजनका शिर्ष व्यक्तित्व हुन् । विडम्बना, नेपालका कम्युनिष्ट पार्टीले पुष्पलाल अनि नेपाली काँग्रेसले बीपीलाई आफ्नो कित्ताको मात्र नेता ठानेर बखान गर्न रुचाउँछन् तर उहाँहरूबाट आफूले के सिके ? समीक्षा गर्न चुकेका छन् । देश र नागरिक हितमा समर्पित एवम् असल कर्मका कारण रामेछापको भंगेरीमा जन्मेका पुष्पलाल आम नेपालीको मनमनमा पुग्न सके । योगदानकै बलमा विराटनगरका बीपी सबैका नेता बन्न सके । मूलतः नेपाल कम्युनिष्ट पार्टीको स्थापनामा पुष्पलाल र नेपाली काँग्रेसको स्थापनामा बीपीको योगदान छ । दुवैले राष्ट्र तथा पार्टी हितका लागि त्याग गरेका छन् ।  दुवै नेताले अन्ततः कम्युनिष्ट र काँग्रेस मिलेर मात्र निरङकुश पञ्चायती ब्यवस्थाको अन्त्य गर्न सकिने तथ्य मनन् गर्न पुगेका थिए । बि.सं.२०४६ को संयुक्त जनआन्दोलन त्यही आधारमा अगाडि बढेको इतिहास साक्षी छ । नेपालको समग्र विकासका लागि काँग्रेस र कम्युनिष्टले सहयात्रा गर्न सक्नुपर्छ भन्ने तथ्य बीपीका कान्छा भाइ पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले समेत प्रौढअवस्थामा मनन् गर्नुभएको थियो । मनमोहन अधिकारी, साहना प्रधान, गणेशमान, कृष्णप्रसाद भट्टराईले २०४६ को जनआन्दोलन ताका नै संयुक्त जनआन्दोलनको मर्म बुझिसक्नु भएको थियो । दुःखको कुरा आसेपासेहरुको कुरा, परिवार र पार्टीभित्रको खिंचलोले कांग्रेस, कम्युनिष्ट पार्टीका शिखर ब्यक्तित्वहरू नै ऐन मौकामा चुकेको घटनाहरू कसरी नजरअन्दाज गर्नु ? हाम्रै देशमा २०५२ बाट आरम्भ नेकपा माओवादीको सशस्त्र आन्दोलनलाई सुरक्षित अवतरणका लागि २०६२/६३ को आन्दोलनमा तत्कालीन कम्युनिष्ट—कांग्रेस पार्टीका शिर्ष नेताहरुको समेत यथोचित भूमिका रहेको सन्दर्भ समेत स्मरण गर्न जरुरी छ ।

यी कुरा थाती राखौँ, पुष्पलाल र बीपीबाट वर्तमानमा हाम्रा नेताले के सिके ? आम नेपालीका सपना पूरा गर्न वा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागतका लागि उनीहरूले पुष्पलाल र बीपीबाट के प्रेरणा लिए ? पार्टी जीवन वा आफ्नै जीवन— ब्यवहारमा के लागू गरे ? चुरो कुरोमा छलफल गरौँ भन्ने पंक्तिकारको आग्रह हो । यतिबेला नवयुवा विद्रोहको जगमा निर्वाचन मार्फत् गठित सरकार छ यसले विगतका कमिकमजोरीबाट पाठ सिकोस् देश अनि आम नेपालीको हितमा क्रियाशील रहोस् शुभकामना ¤ तथापि, प्रष्ट संकेत देखिन जरुरी छ नेपाली मनमा आशा जागेको छ भन्ने । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको दुईदशकको अवधिमा देशमा तीन तहका सरकारले शासन गरिरहेका छन् । सिंहदरबारको अधिकार गाउँ–गाउँमा विकेन्द्रित गरिएको भनिन्छ तर ब्यवहार गाउँविकास समितिबाट भन्दा पालिकाहरुबाट प्रवाह गरिने सेवा आमनागरिकका लागि असहज बनेको गुनासो छ । भूगोल नमिलेका व्यथा, सेवा प्रवाहका जटिल प्रक्रिया, राम्रा भन्दा हाम्रालाई टाकुरे लगाउने प्रवृत्ति गणतन्त्रमा पनि उस्तै छ । पार्टीका नेता, कार्यकर्ता हुन वा पार्टी बलमा चुनाव जितेका अन्य निर्वाचित जनप्रतिनिधिको भूमिका आयोग पास गरेको कर्मचारीको जत्ति पनि नभएको गुनासो सुनिन्छ । कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताले पुष्पलाल आफूहरूको आदर्श बताउन रुचाउँछन् तर ब्यवहारमा सामन्त प्रवृत्ति हटेको छैन् । भनिन्छ नेताको जीवन शैली फेरियो तर आमसर्वसाधारण नेपालीको हालत उस्तै छ । संविधानले ब्यवस्था गरेको मौलिक हक उपभोग गर्न नपाएको गुनासो प्रति नेता, जनप्रतिनिधि बेखवर छन् ? वा सम्बोधन गर्न आवश्यक ठानेका छैनन् ? नागरिकले हेरेका छन् । भाषण, भत्ता र सत्ताको सेरोफेरोमा पुष्पलाल र बीपीलाई आफ्नो आदर्श ठान्नेहरू सीमित स्वार्थमा केन्द्रित हुनु दुःखद कुरा हो । निजी सम्पत्तिलाई महत्व दिने स्वार्थी प्रवृत्तिका हाम्रा नेता कार्यकर्ताकै कारण निष्ठाको राजनीति ओझेलमा परेको छ । यो तथ्य नवयुवा पुस्ताले समेत मनन् गर्न आवश्यक देखिन्छ । हरेकवर्ष साउनमा बीपी र पुष्पलाललाई केवल एकदिन वा एकछिन स्मरण गरेर मात्र कर्तब्य पुरा हुँदैन बरु उहाँहरुको असल कर्म, योगदानबाट शिक्षा लिन जरुरी छ । त्यसो गर्न सके मात्र उहाँहरुलाई सच्चा श्रद्धाञ्जली दिएको ठहर्ने छ । सरोकारवालाको ध्यानाकर्षण होस् ।
  ( लेखक स्वतन्त्र पत्रकार हुन् )
 

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update