प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले सन् १९२३ देखि नियमितरूपमा यो दिवस मनाउँदै आएको हो । आर्थिक–सामाजिक क्षेत्रमा सहकारीले पु¥याएको योगदानलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले १९९२ डिसेम्बर १६ को ८९ औँ पूर्ण बैठकबाट अन्तर्राष्ट्रिय सहकारी महासंघ स्थापना भएको सय वर्ष पूरा भएको अवसर पारेर सन् १९९५ देखि यो दिवस मनाउने निर्णय गरेको हो । यस दिवसले सहकारिताको मूल मर्म–आपसी सहयोग, लोकतान्त्रिक सहभागिता, समानता, आत्मनिर्भरता र सामूहिक समृद्धिलाई स्मरण गराउँछ । व्यक्तिको भन्दा समुदायको हितलाई प्राथमिकता दिने सहकारी अभियानले आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
नेपालमा पनि सहकारी क्षेत्र अर्थतन्त्रको एक महत्वपूर्ण आधारका रूपमा स्थापित भएको छ । बचत तथा ऋण, कृषि, दुग्ध, उपभोक्ता, महिला, युवा तथा बहुउद्देश्यीय सहकारी संस्थामार्फत लाखौँ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार, साना उद्यमको प्रवद्र्धन, रोजगारी सिर्जना तथा सामाजिक सशक्तीकरणमा सहकारीको भूमिका उल्लेखनीय रहेको छ । यद्यपि पछिल्ला वर्षहरूमा केही सहकारी संस्थामा देखिएका वित्तीय अनियमितता, कमजोर सुशासन, पारदर्शिताको अभाव तथा बचतकर्ताको रकम दुरुपयोगजस्ता घटनाले सहकारी अभियानप्रतिको जनविश्वासमा चुनौती थपेका छन् । केही संस्थाको गैरजिम्मेवार व्यवहारका कारण समग्र सहकारी आन्दोलनको छविमा असर परेको यथार्थलाई बेवास्ता गर्न सकिँदैन । त्यसैले सहकारीको मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन, प्रभावकारी नियमन, पारदर्शी व्यवस्थापन तथा सदस्यको सक्रिय सहभागिता आजको प्रमुख आवश्यकता बनेको छ । सहकारी केवल आर्थिक कारोबार गर्ने संस्था मात्र होइन, सामाजिक उत्तरदायित्व वहन गर्ने अभियान पनि हो । सहकारीको समग्र अभियानको मूल लक्ष्य भनेकै समाज रुपान्तरणका लागि ऐक्यबद्धता रहेको हुँदा त्यसलाई नै विशेष प्राथमिकता दिएर जनजीविकामा सहजता ल्याउँने काममा सम्बन्धित देशका सरकारले ध्यान दिनुपर्छ । यसो भयो भने मात्र अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउनुको सार्थकता रहन्छ ।
