Shittalpati
तीन दिनभित्र सरकारले माग्यो स्पष्टीकरण

पाल्पा, असार १० भित्र सबै स्थानीय तहले आ–आफ्ना सभामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि अझै २३ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन् । कतिपय दुर्गम क्षेत्रका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत तथा लेखा प्रमुख नहुँदा बजेट आउन सकेको छैन भने कतिपयमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको विवाद कायम रहँदा निर्धारित समयमा बजेट प्रस्तुत हुन नसकेको जनाइएको छ ।

वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग सरकारले  स्पष्टीकरण मागेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३-८४ को नीति, कार्यक्रम तथा बजेट अझै पनि सभामा पेस नगरेका स्थानीय तहसँग स्पष्टीकरण मागेको हो । मन्त्रालयले पत्रमार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन भनेको छ । पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) असार १० गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेस गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ । मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आव २०८३-८४ को बजेट कानुनले तोकेको समयसीमाभित्र पेस नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण मागिएको जनाएको छ । पत्रमा बजेट तर्जुमा प्रक्रिया हाल कुन चरणमा रहेको, तोकिएको समयभित्र बजेट सभामा पेस गर्न नसक्नुको कारण के हो, तथा मन्त्रालयबाट थप समन्वय वा सहजीकरण आवश्यक भए सो समेत खुलाएर पत्र प्राप्त भएको मितिले तीन दिनभित्र जानकारी गराउन भनिएको छ । यसका साथै, असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिका समेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ । समयमै बजेट नल्याउने पालिकालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने मूल्यांकनमा समेत असर गर्छ । समयमै बजेट नल्याउनेमा सबैभन्दा धेरै मधेस प्रदेशका पालिकाहरू छन् ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेस गर्नुपर्छ  । उपदफा ६ अनुसार भने सभाले उपदफा १ वा ५ बमोजिम पेस भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्नेछ ।
 

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update