मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको छ । अहिले देशका अधिकांश भागमा वर्षा भइरहेको छ । केही दिन अघिसम्म अत्यधिक गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएकोमा अहिले मनसुनको आगमनसँगै तापक्रममा केही कमी आउन थालेको छ । वर्षाले सर्वसाधारणले राहतको अनुभूति गरे यससँगै बाढी, पहिरो, डुबान, चट्याङ तथा अन्य प्राकृतिक विपद्को जोखिम भने बढेर गएको छ । त्यसैले मनसुनको स्वागतसँगै सम्भावित विपद्को सामना गर्न राज्य र नागरिक दुवै पक्ष सचेत एवं तयारी अवस्थामा रहनु आवश्यक छ । मौसम पूर्वानुमान महाशाखाले वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम बढ्न सक्ने, सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूलासाना नदीखोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।
चिन्ताको विषय के हो भने, नेपालमा हरेक वर्ष मनसुनजन्य विपद्ले ठूलो धनजनको क्षति पुर्याउने गरेको छ । बाढी र पहिरोका कारण सयौं परिवार विस्थापित हुने, सडक अवरुद्ध हुने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने र मानवजीवन नै जोखिममा पर्ने गरेको विगतका अनुभव छन् । तर यस्ता घटनाबाट पाठ सिकेर दीर्घकालीन तयारी गर्ने काम भने अझै प्रभावकारी बन्न सकेको छैन । प्राकृतिक विपद् बाजा बजाएर आउँदैन । यो कति बेला आउन्छ भन्ने कुनै पूर्व अनुमान गर्न सकिदैन । तथापी विपद् प्रतिकार्य योजना बनाएर तयारी अवस्थामा रहने हो भने विपद्बाट हुन सक्ने क्षतिबाट केही हदसम्म बच्न भने सकिन्छ । सरकारले विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीलाई उच्च प्राथमिकतामा राख्नुपर्छ । जोखिमयुक्त बस्तीको पहिचान, सम्भावित पहिरो तथा बाढी प्रभावित क्षेत्रमा निगरानी, उद्धार सामग्रीको व्यवस्थापन, सुरक्षा निकायको तयारी तथा स्थानीय तहसँगको समन्वयलाई बलियो बनाउन आवश्यक छ । विपद् आइपरेपछि मात्र सक्रिय हुने प्रवृत्तिले क्षति बढाउने भएकाले पूर्वतयारीमै विशेष ध्यान दिनुपर्छ । स्थानीय सरकारहरू पनि उत्तिकै जिम्मेवार बन्नुपर्छ । नदीकिनार, पहिरोको उच्च जोखिम भएका क्षेत्र तथा अव्यवस्थित बस्तीहरूमा विशेष सतर्कता अपनाउनुपर्छ । त्यसैले अब सरकार, निजी क्षेत्र र नागरिक सबैले मिलेर मनसुनजन्य विपद्को तयारी आजैबाट सुरु गर्नुपर्नेछ। समयमै गरिने तयारीले मात्रै विपद्लाई पूर्णरूपमा रोक्न नसके पनि त्यसबाट हुने क्षति अवश्य घटाउन सक्छ र यही नै अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो । तसर्थ सरकार र सम्बन्धित निकायले यसतर्फ समयमै ध्यान दिन जरुरी छ ।
