गुल्मी, जिल्लाको रेसुंगा नगर सरकारले उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरेको छ । उसले उत्कृष्ट १० उद्यमीलाई पुरस्कृत गरेको हो । उत्कृष्ट मध्ये एक जना उद्यमीलाई नगद १ लाख र अन्य नौं जनालाई ६० हजार रुपैयाँसहित पुरस्कृत गरिएको रेसुंगा नगरपालिकाले जनाएको छ ।
एक नम्बर उद्यमीका रूपमा विनोद कृषि फर्मका विनबहादुर कुँवरलाई पुरस्कृत गरिएको छ । उनलाई नगरपालिकाले नगद १ लाख रुपैयाँसहित पुरस्कृत गरेको हो । अन्य पुरस्कृत उद्यमीहरुमा रेसुंगा कृषि तथा पशुपंक्षी फर्मका केशव रजाली, लक्ष्मी लक्ष्मण कृषि फर्मका मुक्तिनाथ पन्थी क्षेत्री, अर्जुन रेसुंगा मल्टी एग्रो एण्ड टुरिजमका भविन्द्र घर्तीमगर, कृष्ण कृषि उत्पादन फर्मका कृष्णबहादुर बस्नेत, रेसुंगा कृषि पशुपंक्षी तथा मौरीपालन फर्मका विष्णुमाया श्रीस, भगवती कृषि तथा पशुपंक्षी फर्मका चुराबहादुर जोगी कुँवर, थापा व्यावसायिक तरकारी फर्मका लिलबहादुर थापा, न्यु रेसुंगा जडीबुटी प्रशोधन केन्द्रका झविन्द्रलाल भण्डारी र गोपाल तरकारी घुम्टी फर्मका गोपाल नेपाली रहेका छन् । उनीहरुले नगद ६०/६० हजार प्राप्त गरेका छन् । उद्यमी व्यवसायीलाई वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धनका लागि दायित्वसँगको सहकार्यमा कार्यक्रम सञ्चालन भएको थियो । दायित्वको सहकार्यमा १ सय ८० दिन अन्तर्गतको ‘मिसन रोजगारी’ तीन चरण सञ्चालन भएको हो । १ सय ३७ आवेदनमध्ये जम्मा ४० व्यावसायिक फर्म लाभान्वित भएका छन् । जसमा ४० उद्यमीलाई सक्षमीकरण, त्यसैबाट छनोट २० उद्यमीलाई स्तरीकरण र त्यसैबाट छनोट १० उद्यमीलाई स्तरोन्नतिअन्तर्गत पुरस्कार वितरण गरिएको हो । नगर प्रमुख खिलध्वज पन्थीले रोजगारी सिर्जना गर्नुपर्छ भन्ने सबैको साझा उद्देश्य र बुझाइका कारण दायित्वसँगको सहकार्यमा कार्यक्रम भित्र्याएको बताए । सोही कार्यक्रमभित्र रहेर उद्यमीहरुलाई सम्मान गरिएको उनको भनाई छ ।

