आज असार पन्ध्र रोपाइँ गरिरहेको खेतको आलीमा बसेर दही चिउरा खाँदै धान दिवस मनाइँदै छ । नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आइएको हो ।
दिवसका दिन देशभर उच्चपदस्थ अधिकारीहरूले समेत तामझामका साथ हिलोमा पस्ने र धान रोप्ने काम गर्दै छन् । तर धान दिवसका दिन मात्र धान रोपे झै गर्नुले कति सार्थकता प्राप्त गर्यो भन्ने विषयमा खासै छलफल र वहस हुुँदैन । कृषिप्रधान मुलुकमा धानकै नाममा एक दिन विशेष उत्सव मनाउनुको आफ्नै अर्थ छ । तर धानसँग अन्तरसम्बन्धित वर्षौंदेखिका मुद्दालाई सम्बोधन गर्ने दिशामा भने कुनै पनि कदम नचाली खालि तामझामका साथ दिवस मात्रै मनाउनुको चाहिँ कुनै अर्थ छैन । धान नेपालीहरूको मुख्य खाद्यान्न बाली मात्र नभई हाम्रो संस्कृति, अर्थतन्त्र र जीवनशैलीसँग पनि गहिरो रूपमा जोडिएको छ । यो दिवस केवल रोपाइँको उत्सव होइन, कृषि क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे गम्भीर समीक्षा गर्ने अवसर पनि हो । तर त्यसो हुन नसक्नु दुखद् हो । दिवसलाई केवल औपचारिक कार्यक्रम वा हिलोमा रमाउने उत्सवमा सीमित गर्नु हुँदैन । यसलाई किसानको सम्मान, कृषि सुधार र आत्मनिर्भर अर्थतन्त्र निर्माणको अभियानका रूपमा रूपान्तरण गर्न आवश्यक छ । सरकार, निजी क्षेत्र, कृषि विज्ञ, स्थानीय तह र किसानबीचको सहकार्यले मात्र कृषि क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन सक्छ । विडम्वना त्यसो भने हुन सकेको छैन् । हरेक वर्ष मनाइँने यस्ता दिवसले पछिल्लो समय भने किसानलाई आशा होइन, निराशा मात्र थपेको छ । सरकारले हरेक वर्ष ल्याउने नीति तथा कार्यक्रम र बजेटमा कृषिसम्बन्धी विषय बुलन्द सुनिए पनि कार्यान्वयन भने प्रभावकारी कहिल्यै हुन सकेन । धान रोप्ने समयमा किसानले रासायनिक मलका लागि घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुन सकेको छैन । विगतका नारालाई फर्केर हेर्ने हो भने नारा एकातिर, धान तथा कृषि उत्पादनको अवस्था अर्कोतिर मौलाएको पाइन्छ । कृषिभूमिको संरक्षणको नाराका साथ धान दिवस मनाए पनि हाल धान फल्ने खेत खण्डीकरण भई कंक्रिट संरचना तथा घर फलेका छन् । धान उत्पादनमा वृद्घि गर्ने नारा लिए पनि, धान–चामल निर्यात गर्ने देशको रूपमा चिनिएको कृषिप्रधान देशका जनताले अर्बौंको चामल किनेर खान बाध्य छन् । यसले कृषि नाराले चल्दैन भन्ने शिक्षा दिएको छ । तसर्थ दिवसलाई औपचारिकतामै सिमित नराखी त्यसलाई वास्तविक लक्ष्य प्राप्ति गर्ने दिशामा सरकार र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

