पाल्पा, जिल्लाको तानसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले नगरपालिकाको १९ औं नगरसभाको दोस्रो बैठकमा बजेट प्रस्तुत गरेकी हुन् ।
सभामा उपप्रमुख सिंजालीले आगामी आर्थिक वर्षका लागि १ अर्ब ६ करोड ९४ लाख ७५ हजार रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरिन् । कृषि, पर्यटन, रोजगार र पूर्वधारलाई प्रथामिकतामा राखेर उनले बजेट सार्वजनिक गरेकी हुन् । नगरपालिकाले गत आर्थिक वर्षको तुलनामा ३२ करोड ८१ लाख ४५ हजार रुपैयाँ कमको बजेट ल्याएको उपप्रमुख सिंजालीले जानकारी दिइन् । गत वर्ष नगरपालिकाले २०८२-८३ का लागि १ अर्ब ३९ करोड ७६ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । आगामी आर्थिक वर्षमा वित्तीय व्यवस्थातर्फ ९० लाख ३३ हजारसमेत गरी चालु खर्चतर्फ ६८ करोड ५३ लाख ६२ हजार र पुँजीगत खर्च रकम ३८ करोड ४१ लाख १२ हजार रहेको छ । चालु आर्थिक वर्ष आन्तरिक आयतर्फ १० करोड ८८ लाख ५५ हजार आय हुने अनुमान गरिएकामा जेठ मसान्तसम्म ५ करोड ६२ लाख ८० हजार आम्दानी भएको छ । आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएका योजना तथा कार्यक्रमको खर्च व्यहोर्ने आयस्रोतमध्ये संघ सरकारबाट समानीकरण अनुदानतर्फ.१५ करोड ५५ लाख, समपुरक अनुदानतर्फ ५० लाख, ससर्त अनुदान चालुतर्फ ४२ करोड ३२ लाख रहेको छ । यसैगरी पुँजीगततर्फ १ करोड २५ लाख, विशेष अनुदान १ करोड र राजस्व बाँडफाँटतर्फ ११ करोड ३० लाख ३७ हजार बजेट प्राप्त भएको जानकारी गराइएको छ । प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड ८ लाख ८६ हजार, ससर्त अनुदान १ करोड २५ लाख २५ हजार, समपुरक अनुदान १ करोड २० लाख, राजस्व बाँडफाँटबाट १ करोड ४४ लाख ९ हजार प्राप्त प्राप्त भएको छ । आन्तरिक आयतर्फ आन्तरिक राजस्व १० करोड अनुमान गरिएको छ । नगर विकास कोष ४ करोड ९० लाख, जनसहभागितातर्फ १ करोड, आगामी आर्थिक वर्षका लागि सरिजाने मौज्दात १७ करोड ७६ लाख १८ हजार अनुमान गरिएको छ ।


