Shittalpati
आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउँछौं : महामन्त्री घिमिरे

पाल्पा,नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी निर्वाचनमा पार्टीलाई मुलुककै पहिलो राजनीतिक शक्ति बनाउने लक्ष्यसहित अभियानलाई तीव्र पारिएको बताएका छन् । विहीबार नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री घिमिरेले  यस्तो बताएका हुन् । उनले कांग्रेसलाई जनताको भरोसाको केन्द्रका रूपमा स्थापित गर्न सबै तहका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे । नेता घिमिरेले निर्वाचनमा सफल हुन संगठनलाई थप सक्रिय, अनुशासित र जनमुखी बनाउनु आवश्यक रहेको बताए । पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने र महाधिवेशनको प्रक्रियालाई निर्धारित ढंगले अघि बढाउने काममा पार्टी नेतृत्व केन्द्रित रहेको समेत उनले बताए । उनले पार्टीको क्रियाशिल सदस्यता अद्यावधिकका लागि आवश्यक ठाउँमा मात्र समय  थप्ने जानकारी दिए । महामन्त्री घिमिरेले क्रियाशील सदस्यता अद्यावधिक गर्न अब एकमुस्ट समय नथप्ने तर जुन ठाउँबाट समयको माग हुन्छ त्यही ठाउँका लागि मात्र समय थप्ने बताएका हुन् ।“आज क्रियाशील सदस्यता अद्यावधिकको अन्तिम दिन हो ।

केही वडाहरूमा अझै पनि अद्यावधिकको काम जारी रहेको र तोकिएको समय पर्याप्त नभएको गुनासो साथीहरूबाट आएको छ,” उनले भने । महामन्त्री घिमिरेले आवश्यकताको आधारमा समय थप गर्ने निष्कर्षमा पार्टी नेतृत्व पुगेको जानकारी दिँदै काठमाडौं फर्किएपछि त्यसबारे अन्तिम निर्णय गरिने बताए । उनले सबै जिल्लामा एकमुष्ट रूपमा समय थप नगरिने स्पष्ट पार्दै जहाँ समय अपुग भएको छ, त्यहीँका वडा, पालिका, जिल्लाको माग र अवस्थाको मूल्यांकन गरेर मात्र समयावधि बढाइने बताए । उनले पार्टी हाल क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ क्रियाशील सदस्यता वितरणको चरणमा रहेको जानकारी दिए ।  नेता घिमिरेले क्रियाशील सदस्यता अद्यावधिक सम्बन्धी विषयलाई समयमै स्पष्ट रूपमा बुझाउन नसक्दा केही स्थानमा अन्योलता सिर्जना भएको स्वीकार गरे । उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने लक्ष्यसहित संगठन सुदृढीकरणका कार्यक्रम अघि बढाइएको उल्लेख गरे । क्रियाशील सदस्यता वितरणमा कुनै पनि प्रकारको पक्षपात नहुने दाबी गर्दै महामन्त्री घिमिरेले विगतमा देखिएको गुटगत वा पक्षपातपूर्ण अभ्यासको अन्त्य गरिएको बताए ।

“क्रियाशील सदस्यता वितरणमा अब कुनै पक्षपात हुँदैन् । विगतमा रहेको त्यस्तो परम्परालाई हामीले अन्त्य गरेका छौं,” उनले भने । महामन्त्री घिमिरेले संगठनलाई थप सुदृढ, व्यवस्थित र एकताबद्ध बनाउँदै महाधिवेशनको प्रक्रिया अघि बढाइने तथा पार्टीलाई आगामी निर्वाचनमा बलियो प्रतिस्पर्धी शक्तिका रूपमा स्थापित गरिने विश्वास व्यक्त गरे । पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने र महाधिवेशनको प्रक्रियालाई समयमै सम्पन्न गर्ने दिशामा नेतृत्व केन्द्रित रहेको  उनले बताए । नेता घिमिरेले पार्टीभित्रको एकता सुदृढ गर्दै महाधिवेशनको प्रक्रिया अघि बढाइने उल्लेख गर्दै आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई मुलुककै पहिलो पार्टी बनाउने लक्ष्यका साथ संगठन विस्तार र सुदृढीकरणमा पार्टी लागिरहेको बताए । उनले कार्यकर्तालाई पार्टी संगठनलाई थप बलियो बनाउन र सदस्यता अद्यावधिक अभियानलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह समेत गरे । जिल्ला उपसभापति झपेन्द्र गहिरेको अध्यक्षता, सचिव सुनिता अधिकारीको सञ्चालनमा कार्यक्रम भएको  थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update