Shittalpati
आज विश्व बुवाआमा दिवस मनाइँदै

पाल्पा,आज विश्वभर विभिन्न कार्यक्रमका साथ विश्व बुवाआमा दिवस मनाइँदै छ । परिवार र समाजमा बुवा–आमाले पु¥याएको योगदानको सम्मान गर्दै यो दिवस मनाउने गरिन्छ । सन् २०१२ को संयुक्त राष्ट्र संघको महासभाले विश्वभरिका आमाबुवालाई केन्द्रित गर्दै हरेक वर्ष जुन १ लाई आमाबुवा दिवसका रूपमा मनाउने घोषणा गरे अनुरुप दिवस मनाउने गरिएको हो ।

दिवसको अवसरमा विभिन्न सामाजिक संस्था, विद्यालय तथा समुदायस्तरमा सम्मान कार्यक्रम, अन्तरक्रिया तथा सचेतनामूलक गतिविधिहरू आयोजना गरिएका छन् । यस दिन सन्तानहरूले आफ्ना बुवा–आमाप्रति कृतज्ञता व्यक्त गर्दै सम्मान र मायाको भावना प्रकट गर्ने चलन रहेको छ । विशेषज्ञहरूका अनुसार बुवा–आमा परिवारका आधारस्तम्भ हुन् । उनीहरूले सन्तानको पालनपोषण, शिक्षा, संस्कार तथा व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । बदलिँदो सामाजिक परिवेशमा ज्येष्ठ नागरिकको सम्मान, हेरचाह र संरक्षणलाई थप प्राथमिकता दिनुपर्ने आवश्यकता पनि दिवसले स्मरण गराउँछ । यस दिन विश्वभर रहेका सन्ततीहरुले आफुलाई जन्म दिने आमाबुबालाई विशेष सम्झने गर्छन् । आमाबुबा हुनेहरुलेसँगै बसेर आदर सम्मान प्रकट गर्छन् भने नहुनेहरुले मठमन्दिरमा पुगेर पूजा आजा गरी सम्झने गर्दछन् । आजको दिनमा आमाबुवा जीवित हुनेले मीठामीठा पक्वान्न तयार पारी खुवाउने, न्याना उपयोगी कपडाद्वारा सम्मान गर्ने, आमाबुवाको मुख दर्शन गर्ने र प्रणाम गर्ने चलन रहेको छ भने आमाबुवाहरुको देहावसान भइसकेकाहरूले चाहिँ पितृ मुक्तिको कामना गर्दै पितृ तर्पण वा दानदक्षिणा गर्ने गर्दछन् । परापूर्व कालदेखि नै मातृ देवो भव, पितृ देवो भव भन्ने नारालाई आत्मसाथ गर्दै आमा र बुवाको मुख हेर्ने दिनमा स्नेहपूर्वक रूपमा मनाउने सनातन दर्शनमा आमा र बुवालाई भगवान् सरह मान्यता दिइएको नै छ । चाहे जुनसुकै धर्म, दर्शन, संस्कार या जनावरहरू नै किन नहुन ? आमा बुवालाई पुज्ने चलन छ । विश्व बुवाआमा दिवसले पारिवारिक सम्बन्धलाई अझ सुदृढ बनाउन, पुस्ताबीचको सम्बन्धलाई मजबुत बनाउन तथा बुवा–आमाप्रति सम्मान र कृतज्ञताको भावना अभिवृद्धि गर्न प्रेरणा दिने विश्वास गरिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update