Shittalpati
गणतन्त्रका १८ वर्ष : अझै अधुरै छन् जनताका सपना

पाल्पा, नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको शुक्रबार (आज)  १८ वर्ष पूरा भएको छ । २०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र घोषणा गरेको थियो । झण्डै साढे दुई शताब्दी पुरानो शाहवंशीय राजतन्त्रको अन्त्यसँगै घोषणा गरिएको गणतन्त्र  स्थापनाको १८ वर्षपछि पनि जनता अझै अपेक्षा पूरा नहुँदा निराश छन् । 

बेरोजगारी, शिक्षा र स्वास्थ्यको कमजोर अवस्था, भ्रष्टाचार र संस्थागत कमजोरी गणतन्त्रको सफलतामाथि प्रश्न बनेका छन् । लामो संघर्ष र बलिदानपछि मुलुकमा गणतन्त्र घोषणा हुँदा जुन खालको उत्साह थियो, त्यसपछिको राजनीतिक खिचातानीले जनतालाई निरुत्साहित बनाएको छ । गणतान्त्रिक पद्धतिमा प्रवेश गर्दा पनि मुलुकले समृद्धिको बाटो पक्रन सकेको छैन, जसले गर्दा आम जनताको जीवनशैली बदलिएन । त्यसैकारण पनि जनतामा उतिबेला देखिएको आशा र उत्साह निराशामा बदलिएको हो । मुलकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था भने उस्तै छ । गणतन्त्र आएपछि जीवन बदलिने सपना देखेका रिब्दीकोटका ५८ वर्षीय ऋषि विश्वकर्माले अहिले पनि पूर्खाले नै गरेको काम गर्नु परेको गुनासो गर्छन् । गणतन्त्र घोषणा हुँदा उनी बारी जोत्दै थिए । अहिलेसम्म पनि त्यही हलो जोतेरै जीवन चलाउदै आएक गुनासो छ । उनले भने “न हाम्रो काम फेरियो, न त हाम्रो स्थिति फेरियो,”उनले भने, “जस्तो हाम्रो पुर्खाको अवस्था थियो, हाम्रो पनि त्यस्तै रÞयो ।” २०६५ जेठ १५ गते देशमा गणतन्त्र आउँदा तानसेन जैसिचौपारीका बाले विक आरानमा फलाम थिच्दै थिए ।

फलामका औजार बनाउने पुर्खयौली पेसा भएको परिवारका उनीमा त्यति राजनीतिक चेत थिएन, तर २२ वर्षे जवानमा उनी पनि गणतन्त्र ल्याउन भन्दै गाउँलेहरुसँगै आन्दोलनमा होमिएका थिए । पछि देशमा गणतन्त्र आएको सुने । गणतन्त्र आएपछि देश र जनताको अवस्था फेरिने उनले सुनेका थिए । तर विकले सुनेको कुरा कहिल्यै साँचो लागेन । अहिले पनि उनी त्यही पूर्खौली पेशा गर्दै आएका छन् । उनीहरुसँगै धेरैले व्यवस्था परिवर्तनले जीवनमा खासै प्रभाव नपारेको बताउँछन् । मुलुकमा गणतन्त्र आएको १८ वर्ष पूरा भएको छ । तर, जनताको लामो संघर्ष र बलिदानपछि मुलुकमा गणतन्त्र आए पनि अहिलेसम्म उनीहरुको जीवनमा परिवर्तन आउन सकेको छैन् ।
 

आज १९ औँ गणतन्त्र दिवस मनाइँदै
नेपालमा आज १९ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । गणतन्त्र दिवसका अवसरमा देशभर प्रभातफेरी, सांस्कृतिक कार्यक्रम, दीप प्रज्वलन तथा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिदैं छ । सरकारले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ, जहाँ राष्ट्रपति, सभामुख, विभिन्न दलका नेताहरू तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहने बताइएको छ । गणतन्त्र दिवसलाई लोकतान्त्रिक उपलब्धिको महत्वपूर्ण दिनका रूपमा लिइन्छ । २०६२÷६३ को जनआन्दोलनपछि स्थापित राजनीतिक परिवर्तनको प्रतीकका रूपमा यो दिवस मनाइँदै आएको छ । देशको शासन व्यवस्था नै परिवर्तन भइ गणतन्त्रात्मक व्यवस्था शुरु भएको दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।  हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर गणतन्त्र ल्याइएको हो । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरे । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्ख्ला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)का बीच १२ बुँदे समझदारी भयो । पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो । विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए ।  राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो । विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गरेको हो ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update