Shittalpati
रामपुरको स्थानीय पाठ्यक्रममा आधारित सन्दर्भ सामग्री प्रकाशन

पाल्पा (रामपुर) जिल्लाको रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित सन्दर्भ सामग्री प्रकाशनमा ल्याएको  छ ।  उसले ‘हाम्रो रामपुर’ नामक सन्दर्भ सामग्री प्रकाशनमा ल्याएको हो । सन्दर्भ सामग्रीको एक औपचारिक कार्यक्रमकाबिच विमोचन गरिएको छ । नगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्थानीय विषयबस्तु बारे जानकारी गराउने उद्देश्यले  स्थानीयस्तरमा रहेका विभिन्न विषयबस्तुलाई समेटेर सन्दर्भ सामग्री प्रकाशनमा ल्याइएको प्रमुख रमण बहादुर थापाले बताए  । उनले विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विषय बारे अध्ययन गरे पनि आफ्नै गाउँ–ठाउँको बारेमा जानकारी नहुँदा स्थानीयस्तरको विषयमा ज्ञान दिन सन्दर्भ सामग्री महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

नगरप्रमुख थापाले सन्दर्भ सामग्रीले स्थानीय धर्म, जातजाति, भाषा, कला ,संस्कृति, सीप र प्रविधिको संरक्षण तथा संवद्र्धन गर्दै भावी पुस्तालाई आफ्नै पहिचानसँग जोड्ने बताए । पाठ्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न र शिक्षण सिकाईलाई सशक्त बनाउन सामग्री निर्माण गरिएको नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले बताइन् । विद्यार्थीहरुको सिकाईसँगै स्थानीय विषयवस्तुको ज्ञानमा एक रुपता ल्याउने उनले उल्लेख गरिन् । सन्दर्भ सामग्रीमा रामपुरको भौगोलिक अवस्था, ऐतिहासिक तथा समासामयिक अवस्था, समाज र संस्कृति, जातजाति,संस्कार र संस्कृति र वन वातावारण र पर्यटन लगायतका विषयवस्तु समेटिएको छ । प्रत्येक वडा÷वडाको बस्तुगत विवरण, प्रमुख बस्ती, प्रमुख पेशा, जात , धर्म, संसार संस्कृति, विकासका पूर्वाधार, आर्थिक क्रियाकलाप, बन बनस्पति, बन्यजन्तु, पर्यटकीय स्थल, धार्मिक महत्व बोकेका स्थान, विपद र व्यवस्थापन लगायतको विषयलाई उक्त सामग्रीमा  समेटिएको छ ।

नगरपालिकाले सन्दर्भ सामग्री निर्माणका लागि स्थानीय  पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यदल गठन गरेर  तयार गरेको हो । कार्यदलले हरेक वडा/वडामा पुगेर सामूहिक छलफल र अन्तक्र्रिया मार्फत स्थानीयबासीसँग बास्तविकता बुझेर सन्दर्भ सामग्री तयार गरेको कार्यदलका संयोजक देवराज देवकोटाले जानकारी दिए । वस्तिस्तरमै पुगेर लेखन गर्दा त्यहाँको वास्तविकता थाहा पाइने भएकाले गाँउ टोलमै पुगेर यथार्थ विषयबस्तु समेटेको उनले बताए ।  नगरपालिकाले स्थानीय पाठ्यक्रम लागु गरे पनि शिक्षण सामग्री नहुँदा सिकाइमा एक रुपता नभएको भन्दै यसका लागि सन्दर्भ सामग्री तयार गरिएको शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए ।  नगरपालिकाभित्रका प्रत्येक वडालाई समेटेर वडागत जानकारी समेटिएको उनले बताए । कक्षा शिक्षणको क्रममा सामग्री नहुँदा कक्षा शिक्षण गर्न शिक्षकलाई पनि असहज भएपछि यसको सहजताका लागि पनि सन्दर्भ सामग्री प्रकाशन गरेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताए । नगरपालिकाले २०८० मा कक्षा १–८ सम्म स्थानीय पाठ्यक्रम लागु गरिसकेको छ । प्रकाशित सन्दर्भ सामग्री नगरपालिकाभित्रका कक्षा १ देखि ‍८ सम्मका विद्यालयहरुमा शिक्षण गराइने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update