Shittalpati
किसानलाई मल–बीउ देऊ

नेपाल एक कृषि प्रधान देश हो । यहाँका ६६ प्रतिशत मानिसहरू कृषि पेशामा आश्रित छन् । फलतः कृषि विकासको लागि मल, बिउ, सिँचाइ आवश्यक पर्छ तर हाम्रो देशमा बाली लगाउने समयमा मलको अभाव सधैँ नै भइरहन्छ । खास गरी मागअनुसार आपूर्ति नहुँदा प्रत्येक वर्ष बाली लगाउने सिजनमा किसानले मलको अभाव खेप्नुपर्छ ।  खेती लगाउने बेला किसानले मल र बीउको अभाव खेप्नु हामीकहाँ बाध्यता नै बनेको छ । हरेक वर्ष हरेक नयाँ समस्या त हुन्छन् नै तर समयमा मलबीउ नपाउने र किनेर समेत प्रयोग गर्न नपाउने अवस्थालाई सामान्य मान्नुहुँदैन । कृषिमा नै बहुमत जनसंख्या आश्रित रहेको देशमा यस्तो समस्या सम्बोधन नहुनु लाजमर्दो विषय हो । तीनै तहका सरकारले कृषि क्षेत्रलाई ठूलो बजेट राखेको विषय उठाइरहेका छन् तर व्यवहारमा पटक्कै लागू भएको छैन । यति बेला किसानका बारीमा मकै छन् भने अबको एक महिना पनि धान रोपाइँ पनि सुरु हुन्छ ।  खेतीपातीको सिजन सुरु भए पनि किसानहरुले सहजै रुपमा मल पाउन नसकेको गुनासो छ । अभावकाबीच मल पाइहालेमा पनि किसानहरू महँगो मूल्य तिर्न विवश छन् । यसले विगतमा जस्तै मल अभावको समस्या दोहोरिने देखिन्छ ।  पर्याप्त मल नपाएकै कारण धेरै खेत बाँझै रहेका छन् । अहिले खेत बारीमा युरिया हाल्ने बेला हुन थालेको छ, तर यसका लागि किसान मल नपाएर भौतारी रहेका छन् । समस्या कस्तो छ भने, धान र मकै छरिसकेपछि युरिया आवश्यक पर्छ, तर आवश्यक परेका बेलामै मल पाइदैन । किसानले न समयमा मल पाउँछन् नत पर्याप्त सिँचाई नै ।सबै समस्या ज्यूँका त्यूँ हुँदा पनि सरकार कृषकप्रति उत्तरदायी बनेको देखिँदैन । यसले हरेक वर्ष किसान खेती गर्न छोड्दै गएका छन् । यसले भोलि देशमा खाद्य संकट उत्पन्न हुन सक्ने सम्भावनालाई बढाउन सक्छ । यसतर्फ सरकारले किसानलाई खेतीतर्फ आकर्षित गर्न मल, विउ अभाव हुन नदिने र पर्याप्त सिंचाईको प्रवद्र्धन दीर्घकालीन रुपमा बनाउने दिशामा बेलैमा सोच्न आवश्यक छ ।

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update