Shittalpati
‘च्याउ दिदी’ तुलसाको १८ वर्षे संघर्ष : च्याउखेतीबाट करोडौँको सफलता

दाङ, तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थोकी छन् । उनले निरन्तर १८ वर्षदेखि दाङमा च्याउखेती गर्दै आएका कारण आजकाल स्थानीयले उनलाई च्याउ दिदीका उपनामले चिन्ने गरेका हुन् ।

निरन्तर मेहनतका कारण च्याउ व्यवसायबाट तुलसा बुढामगरले   तुलसीपुर उपमहानगरपालिका–६ मा सन्तोषजनक आम्दानी गरेकी छन् । उनले करोडौँ जाने आकर्षक निवाससमेत निर्माण गरिसकेकी छन् । सामान्य लेखपढ गरेकी बुढा च्याउखेतीमै रम्न थालेकी छन् । उनले उद्योगमा दुई जनालाई रोजगारी दिनुका साथै खर्च कटाएर वार्षिक आठ लाख  बचत गर्छिन् ।  सानो माटोको कच्ची घर भाडामा लिएर च्याउखेती सुरु गरेकी उनी दाङको महिला उद्यममीका रुपमा चिरपरिचित छन् । उनी भन्छिन्, “च्याउखेतीबाट आर्थिक रुपमा सक्षम हुनुका साथै आत्मनिर्भर  बनेकी छु ।”

च्याउ बिक्रीबाट तुलसाले लाखौँ रुपैयाँ बचत गरी पक्की घर तथा सम्पती जोड्न सफल भएकी छन् । मगरले च्याउ, च्याउको अचार, सुकुटी विभिन्न मेला महोत्सवमा स्टल भाडामा लिएर समेत बिक्री गरेकी छन् ।  तुलसाले बजारमा ताजा च्याउ प्रतिकेजी २२०, सुकुटी ३०० देखि ३८० सम्म र अचार ५०० देखि ६०० मा बिक्री गर्छिन् । तीन लाखबाट व्यवसाय सुरु भएको च्याउखेतीबाट एक करोड मूल्य बराबरको पक्की घर निर्माण गर्न सफल भएकी छन् तुलसा । निरन्तर च्याउ उत्पादनमा लागेकै कारण उनको मेहनतको कदर गर्दै साना तथा मझौला उद्योगले निःशुल्क च्याउ प्रशोधन मेसिन उपलब्ध गराएको छ ।

चितवनमा च्याउखेती देखेपछि आकर्षित भएकी तुलसा दुई सन्तानकी आमा हुन् । आमाको मेहनत र लगनशीलताले सन्तानलाई पनि मेहनत गर्ने आदत बसेको तुलसाले सुनाइन् । गत वर्ष तुलसीपुर उपमहानगरपालिले उनलाई उत्कृष्ट महिला उद्यमी पुरस्कार पनि प्रदान गरेको थियो । च्याउ एक प्रकारको हरितकण नभएको ढुसी (फन्जाइ) हो । जुन ओसिलो र कुँहिएको वस्तुमा उम्रन्छ । नेपालमा कन्ये, गोब्रे र सीताकेजस्ता खानयोग्य च्याउको व्यावसायिक खेती गरिन्छ । तर, ज·ली च्याउ खाँदा मानिसको मृत्युसमेत हुने गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update