Shittalpati
एसइईमा चार जिपिए ल्याउने विद्यार्थीलाई एक लाखसहित सम्मान

तम्घास (गुल्मी), माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार जिपिए ल्याउने विद्यार्थीलाई गुल्मीमा नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको छ । रेसुङ्गा नगरपालिका–१ मा रहेको महेन्द्र माध्यमिक विद्यालयले एसइईमा चार जिपिए ल्याउने विद्यार्थी अस्मिता पाण्डेलाई नगद एक लाखसहित सम्मानपत्रले सम्मान गरेको हो ।

शुक्रबार विद्यालयमा आयोजित विद्यार्थी सम्मान कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीलगायतले पाण्डेलाई चेक र सम्मानपत्र प्रदान गरे । गत चैतमा भएको एसइईमा महेन्द्र माविबाट ८० विद्यार्थी सहभागी थिए । जसमध्ये ६८ जना उत्तीर्ण भएको सहायक प्रधानाध्यापक लक्ष्मी पन्थी अर्यालले जानकारी दिए । गुल्मी जिल्लाभरबाट कुल छ जना विद्यार्थीले चार जिपिए ल्याएका छन् । जसमा पाण्डेसहित रेसुङ्गा माविकी दीक्षा पोखरेल, रुरुक्षेत्र गाउँपालिकाको रिडी माविकी मर्यादा पौडेल, रेन्बो इङ्लिस बोर्डिङ स्कुलका आरुसा श्रेष्ठ र खोमराज पन्थी एवं चन्द्रकोट गाउँपालिका दिब्रुङस्थित शारदा माविकी रीतिका गौतम रहेका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख थानेश्वर गौतमका अनुसार गुल्मीबाट साधारण धारतर्फ तीन हजार ३३९ विद्यार्थी सहभागी भएकामा २९३ अर्थात् ६८ दशमलव ६८ प्रतिशत उत्तीर्ण भएका छन् । साधारण धारमा ३ दशमलव ६ देखि ४ जिपिए ल्याउने विद्यार्थी २२१ जना छन् । त्यसैगरी, प्राविधिक धारतर्फ २५९ विद्यार्थी सहभागी भएकामा १८२ जना उत्तीर्ण भएका छन् । जुन कुल सहभागी संख्याको ७० दशमलव २८ प्रतिशत हो । महेन्द्र माविका प्रधानाध्यापक मरासिनीका अनुसार विद्यार्थी एवं शिक्षकको कडा मिहिनेत, अभिभावकको पूर्ण सहयोग एवं सरकारी पक्षबाट पनि आवश्यक सहयोगको कारण सफलता हासिल गरेको बताए  । 
 

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update