Shittalpati
बालविवाह रोकथामका लागि सचेतनामूलक कार्यक्रम

पाल्पा (रामपुर),बालविवाह रोकथाम तथा नियन्त्रणका लागि रामपुरमा सचेतनामूलक कार्यक्रम गरिएको छ । बालमैत्री स्थानीय साशन घोषणाको तयारीमा रहेको रामपुर नगरपालिकाले बालविवाह रोकथाम र न्यूनीकरणका लागि विभिन्न सचेतनात्मक कार्यक्रम गरेको हो । उसले बालविवाह तथा महिला हिंसा न्यूनीकरण सम्बन्धी डकुमेन्ट्री चलचित्र प्रदर्शन तथा अन्तक्र्रिया कार्यक्रम गरेको छ । नगरपालिकाले सबै वडाका विद्यार्थीहरुलाई समेटिने गरी विद्यालयहरुमा यो कार्यक्रम सञ्चालन गरिरहेको छ । सोमबार रामपुर नगरपालिकाको वडा नं.१० बाट प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम शुरु गरेको छ । पहिलो दिन जनकल्याण माध्यमिक विद्यालय रामटार र भानुभक्त माध्यमिक विद्यालय बर्दलेमा डकुमेन्ट्रिी चलचित्र प्रदर्शन सहित अन्तरक्रिया गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको  छ ।कार्यक्रमको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विगतमा घरपरिवारले जबरजस्तीमा बालविवाह हुने गरे पनि पछिल्लो समय बालबालिकाको आफ्नै व्यवहारका कारण बालविवाह हुने गरेको बताए । सामाजिक सञ्जालको प्रयोगले विभिन्न प्रलोभनमा परेर बालविवाह गर्ने र विभिन्न हिंसा निम्त्याएको  उनले उल्लेख गरे । नगर प्रमुख थापाले उमेर नपुगी विवाह गर्ने र सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढ्दो रुपमा रहेको भन्दै शारिरिक रुपमा सक्षम भए पछि मात्र विवाह गर्न आग्रह गरे ।

बालविवाहले निम्त्याउने समस्या र हिंसाका घटना न्यूनीकरण गर्न बालबालिकालाई सचेत गराउनका लागि डकुमेन्ट्री प्रदर्शन सहितको अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको उनले बताए । उनले रामपुर नगरपालिकालाई यही २०८३ साल मंसिर ५ गते बालमैत्री स्थानीय शासन घोषण गर्ने भन्दै यसका लागि आवश्यक सूचक पुरा गर्नका लागि सबैको सहयोग आवश्यक पर्ने बताए । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नगरपालिकामा अत्याधिक मात्रामा बालविवाह भईरहेको भन्दै यसको न्यूनीकारणका लागि सचेतनात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको बताइन् । उनले रामपुर नगरपालिकालाई बालमैत्री स्थानीय साशन घोषणा गर्नका लागि विभिन्न १८ वटा कार्य योजना अनुसार अगाडि बढेको जानकारी दिए । साथै बालविवाह र हिंसाका घटना रोकथामका लागि सबै आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिइन् । यस्तै जनकल्याण माध्यमिक विद्यालय रामपुर १० पाल्पाका प्रधानाध्यापक आनन्द प्रसाद भण्डारीले बालविवाह नगर्न र यसको रोकथाममा विद्यार्थीहरुले विशेष भूमिका निर्वाह गर्न उनले आग्रह गरिन् । कार्यक्रममा सृष्टि फाउण्डेशनले बालविवाह र यसबाट निम्तिने हिंसाका घटना समेटिएकोे जुना डकुमेन्ट्री चलचित्र प्रदर्शन गरिएको थियो । रामपुर नगरपालिका वडा नं.१० का अध्यक्ष तोयानाथ सारु थपाको अध्यक्षता, नगर बाल सञ्जालका उपाध्यक्ष प्रिन्स कुँवरको स्वागत,सञ्जालका अध्यक्ष शारदा श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update