पाल्पा,विश्वभर प्रत्येक वर्ष मे ३ तारिखमा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । प्रेस स्वतन्त्रताको महत्वलाई स्मरण गर्ने, पत्रकारहरूको योगदानलाई सम्मान गर्ने र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघले यो दिवस मनाएको हो ।दिवसको सान्दर्भिकता बढ्दै गए पनि प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको छ । नेपाल पत्रकार महासंघका अनुसार मे ४ सन् २०२५ देखि ३० अप्रिल २०२६ सम्म गरिएको अध्ययन विवरणमा १३१ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । गत वर्ष सोही अवधिमा ७३ वटा यस्ता घटना भएका थिए । महासंघका अध्यक्ष निर्मला शर्माले तुलनात्मक विश्लेषण गर्दा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढिरहेको पाइएको बताइन् । महासंघको सञ्चार अनुगमन एकाइले गरेको अध्ययनअनुसार १३१ घटनामध्ये पत्रकारमाथि दुव्र्यवहार तथा धम्कीका ५१, पत्रकार तथा सञ्चार सामग्रीमाथि आक्रमणका ३०, पेसागत असुरक्षाका १८ र कब्जा तथा अवरोधका २६ वटा घटना रहेका छन् । यसैगरी नीतिगत बन्देजका तीन, पत्रकार पक्राउका दुई र पत्रकारको शङ्कास्पद मृत्युका एक घटना अभिलेख भएका छन् । गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा २६ वटा प्रेस स्वतन्त्रता हननका घटना हुँदा १०० भन्दा धेरै पत्रकार तथा सञ्चारगृह प्रत्यक्ष प्रभावित भएको महासंघको अध्ययनले देखाएको छ ।

