पाल्पा, आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन, जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइन्छ । मातातीर्थ औंसीका दिन जीवित आमालाई मिठा परिकार र नयाँ बस्त्र उपहार दिएर सम्मान गरिन्छ भने दिवंगत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । जीवित अथवा दिवंगत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्य पर्व मानिन्छ ।
यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ । आज सामाजिक सञ्जालहरु रंगिएका छन्, आमालाई कोशेली किन्नको लागि पसल र मिठाई पसलमा केहि चहलपहल पनि थपिएको छ । छोराछोरी र नानि नातिनीहरू भेट्न जादा आमाहरु केहि खुशी देखिएका छन् ।
सामाजिक सञ्जालमा आमाका तस्विरहरु छन्, आमाका गुणगान छन् । शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको पाइन्छ ।‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवःयसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ । जीवित अथवा दिवंगत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । भगवान विष्णुले मातृवियोगबाट विह्वल व्यक्तिलाई मातातीर्थ कुण्डमा स्नान गर्न लगाई माताको दर्शन गराएको भन्ने मान्यताका साथ हिन्दू धर्मालम्वीले मातातीर्थ औंसी मनाउने गर्दछन् । जन्म दिने आमा र जन्म भएको धर्ती स्वर्ग समान हुन् भन्ने पौराणिक मान्यता छ । स्वस्थानी व्रतकथा अनुसार यस तीर्थमा सतीदेवीको अंग पतन भइ मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । त्यहाँ शास्त्रीय विधिबाट गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा सन्तानले जीवनभर सुख पाउने विश्वास गरिन्छ ।


