पाल्पा, नेपाली सेनाले गत चैत्र २७ गते देखि सुरु गरेको चौथों ऐतिहासिक गोरखा–जितगढी पदयात्रा पाल्पा आइपुगेको छ । ऐतिहासिक गढी, किल्ला, दरबारको संरक्षण तथा प्रवर्धन एवं इतिहास बारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सुरु भएको पदयात्रामा सहभागी टोली आज बिहान पाल्पा आइपुगेको हो । गोरखा, तनहुँ, स्याङ्जा हुँदै आज पाल्पा आइपुगेको हो । उताबाट आएको फौजले पाल्पामा तैनाथ फौजलाई पाल्पा र स्याङ्जाको सीमाना केलादीघाटमा झण्डा हस्तान्तरण गरेको छ ।.jpg)
उक्त टोलीलाई बुधबार विहान त्यहाँ भव्य स्वागत गरिएको छ । स्वागतमा तनहुँबाट आएको सेनाको टोलीले पाल्पाको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापालाई झण्डा हस्तान्तरण र २ नम्वर राज दल गणका प्रमुख सेनानी अनुप थापाले २२ नम्वर गणका बाहिनी पति बिमल राज शर्मालाई बलेको दियो टर्च हस्तान्तरण गरेका थिए । टोलीलाई पाल्पास्थित नेपाली सेनाको दि फेमस महिन्द्र दल गणले केलादीमा स्वागत गरेको हो । पदयात्रमा नेपाली सेनाको टोली, जनप्रतिनिधि, नागरिक, विद्यार्थी,कर्मचारीसँगै पत्रकारको सहभागितामा नेपाली मौलिक बाजा पञ्चेबाजा, राष्ट्रिय झण्डा, सम्बन्धित गणको झण्डा, नेपाली सेनाको ब्याण्डमा नाँच्दै, गाउँदै गरेका दृश्यहरु देख्न सकिन्छ । सेनाले सैनिक नागरिक सम्बन्धको सुमधुर सम्बन्धलाई कायम गरि थप विस्तार गर्न पदयात्राले महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको पदयात्रामा सहभागी सेनाको टोलीलाई स्वागत गर्न पुग्नुभएको प्रतिनिधि सभा सदस्य सन्दिप रानाले बताए । ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने तथा सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यले सेनाले पदयात्रा गरिरहेको छ ।.jpg)
उक्त पदयात्राका क्रममा सेनाको टोली अहिले पाल्पा आइपुगेको हो । यात्राले ऐतिहासिक गढी, किल्ला, दरबार तथा एकीकरणको क्रममा प्रयोग भएका मार्गहरू पहिचान गरी, संरक्षण, सम्वद्र्धन र विकास गर्न सघाउ पुग्ने प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुंवरले विश्वास व्यक्त गरिन् । नेपाली सेनाको आयोजना र स्थानीय तहहरुको सहयोगमा सेना पदयात्रामा निस्किएको हो । उक्त टोलीको प्रतिनिधि मण्डल र पाल्पास्थित ‘दि फेमस महिन्द्र दल गण’ ले पाल्पाको गढी तथा किल्लासम्मको यात्रा गर्ने छन् । उक्त टोलीले पहिलो दिन केलादीघाट हुँदै विरकोट, पूर्वखोला ३५ किलोमिटर यात्रा गर्दै छ । वैशाख ३ गते विरकोट, पूर्वखोलादेखि गोठादी, माथागढी, ३९ किलोमिटर टोलीले पदयात्रा गर्ने पाल्पास्थित ‘दि फेमस महिन्द्र दल गण’ का सेनानी डिलबहादुर राना मगरले जानकारी दिए । उनका अनुसार बैशाख ४ गते गोठादी, माथागढीदेखि प्रभास, तानसेन ३५ किलोमिटर यात्रा गर्ने छ ।
बैशाख ५ गते प्रभास–तानसेन काजीपौवा हुँदै प्रभास १७ किलोमिटर यात्रा गर्ने छ । वैशाख ६ गते प्रभासदेखि दोभान ३२ किलोमिटर यात्रा हुने छ । पदयात्रामा नेपाली सेनाका ५३ जना अधिकृत, सकलदर्जा, सुरक्षाकर्मीको सहभागिता रहेको छ । बैशाख ७ गते नेपाली सेनाले अंग्रेज सेनालाई पराजित गरी विजय उत्सव गरेको दिन पदयात्रा टोलीले दोभान नुवाकोटगढी देउरालीमा पुगी बुटवलको टोलीलाई झण्डा हस्तान्तरण गरी जितगढी विजय उत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ । तत्कालिन समयमा राज्य एकिकरणको क्रममा प्रयोग भएका सम्पादहरु गढी , किल्ला, मार्ग देखि नेपाल–अंग्रेज युद्ध र नेपाली सेनाको विरासतसँग जोडिएका ऐतिहासिक दस्ताबेज, महिमालाई नयाँ पुस्ता माझ पुर्नताजगी गराउन पदयात्राले सहयोग विश्वास लिइएको छ । पदयात्रा गोरखाबाट सुरु भई रुपन्देहीको जितगढी किल्ला पुगेर विजय उत्सवका रुपमा सहभागी भई टुँगीने छ । नेपाल आक्रमणमा आएको अंग्रेज सेनालाई पराजित गरेको दिनको स्मरण गर्दै बैंशाख ७ गते ऐतिहासिक स्थल जितगढी किल्लामा विजयोत्सव मनाउने गरिन्छ । १८७२ वैशाख ७ मा अंग्रेज सेनामाथि नेपाली सेनाले विजय प्राप्त गरेको दिन पारेर बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजयोत्सव मनाउँदै आएको छ । जितगढी किल्लालाई केन्द्रविन्दु बनाएर तत्कालीन पाल्पा राज्यका कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले झन्डै ३ महिना अंग्रेजसँग लडेको र दुईपटक अंग्रेज सेनाले आक्रमण गर्दा पनि उसलाई पराजित गर्दै गोरखपुरसम्म लखेटेको दिनलाई विजयोत्सवका रूपमा लिने गरिएको छ । सेनाले ‘पहिलो गोरखा–जितगढी’ पदयात्रा गत चैत्र २९ गतेदेखि गरेको थियो ।


