पाल्पा, नेपाली कांग्रेस पाल्पाले काँग्रेस तानसेन नगरपालिकाका नगर सचिव शैलेन्द्र भट्टराईलाई कारवाहीको सिफारिस गरेको छ । पार्टीको जिल्ला अनुशासन समितिले भट्टराईले पार्टीको आचरण, अनुशासन र विधान विपरीत कार्य गरेको भन्दै कारवाहीको लागि केन्द्रीय अनुशासन समितिलाई सिफारिस गरेको हो ।
नगर सचिव भट्टराईले गत फाल्गुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नं २ पाल्पामा काँग्रेसबाट उम्मेदवार बनेका हिमालदत्त श्रेष्ठलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला अनुशासन समितिले कारवाही गर्न भन्दै केन्द्रीय अनुशासन समितिलाई पत्र पठाएको छ ।
भट्टराईले हिमालदत्त श्रेष्ठलाई निर्वाचनमा हराउन आफु लागेको भन्ने भिडियो बाहिरिएपछि पार्टीले कारवाहीको पक्रिया अगाडि बढाएको हो । “म पार्टी सभापति हिमाललाई हराउ भनेर हिडेको छु, काँग्रेसको सचिव हो, म मलाई केही फरक पर्दैन” भन्ने कुरा सार्वजनिक भिडियोमा स्पष्ट सुन्न सकिन्छ । उक्त भिडियो बाहिरिएपछि काँग्रेस तानसेन नगर समितिले भट्टराईलाई पार्टीको विधान २०१७ परिच्छेद ९ को धारा ३४ उपधारा ४ (क) र (ख) तथा पार्टीको नियमावली २०७६ परिच्छेद १० (२१) को १ (क) र (ङ) बमोजिम ५ (पाँच) वर्षको लागि साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न भनी जिल्ला अनुशासन समितिलाई पत्र पठाएको थियो । उक्त पत्रका आधारमा केन्द्रलाई सिफासिर गरि पठाइएको जिल्ला अनुशासन समितिका संयोजक मुक्तिराम बस्यालद्वारा जारी पत्रमा उल्लेख गरिएको छ ।
चैत्र १४ गते हुने पाल्पा उद्योग वाणिज्य संघको निर्वाचनमा समेत भट्टराई अध्यक्षका उम्मेदवार बनेका छन् । निर्वाचनको मुखैमा आएर अहिले उनी आलोचित बन्न पुगेका छन् । भट्टराईले एवान टेलिभिजनमा अन्र्तवार्ता दिने क्रममा समेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु र पूर्व कार्य समितिलाई भ्रष्टाचारीको संज्ञा दिई कुशासनको आरोप लगाएपछि समेत आलोचना खेप्नु परेको छ ।
संघको शनिबार हुने निर्वाचनमा केन्द्रीत अन्तर्वार्ता दिने क्रममा भट्टराईले गोर्खेकोटमा निर्माण भएको संघको भवन निर्माणका क्रममा पूर्व अध्यक्षहरुले ठूलो आर्थिक अनियमित गरेको भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिप्रति संघका पूर्व अध्यक्षहरु हरी रायमाझी, भुषण राजलवट,मधु दयाल सैंजू, मोहन श्रेष्ठ, राजु महर्जन लगायतले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।


