पाल्पा, प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पामा उल्लेख्य संख्यामा मत बदर भएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई निर्वाचन क्षेत्र रहेको यहाँ प्रत्यक्ष र समानुपातिक तर्फ बदर मत आठ हजार पाँच सय ४१ रहेको हो ।
मतदाताको उत्साहजनक सहभागिता देखिए पनि बदर मतको संख्याले मतदाता शिक्षा अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको संकेत गरेको छ । मतपत्रमा सही तरिकाले छाप नलगाउने, एकभन्दा बढी चुनाव चिÞनमा छाप लगाउने, मतपत्रको बीच भागभन्दा बाहिर छाप पर्ने तथा कतिपय अवस्थामा मतपत्रमा ल्याप्चे वा अन्य चिन्ह लगाउने कारणले मत बदर हुने गरेको पाइएको छ । मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिए पनि त्यसको प्रभाव सबै मतदातासम्म समान रूपमा पुग्न नसकेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका निर्वाचन अधिकारी महेश शर्माले बताए । उनले भने “मतदाता शिक्षाको समय कम, भौगोलिक विकटताको साथै केही मतदाताले जानी बुझिकनै मतपत्रको गलत स्थानमा स्विस्तिक छाप लगाउनु मत बदर हुनुका कारण हुन् ।” यहाँका दुवै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ १ लाख १६ हजार ६ सय १८ मत खस्यो भने प्रत्यक्षतर्फ १ लाख १४ हजार ७ सय ६२ मत खसेको थियो । जसमा आठ हजार पाँच सय ४१ मत बदर भएको निर्वाचन अधिकारी शर्माले बताए । उनका अनुसार प्रत्यक्षतर्फ क्षेत्र नं. १ मा ५१ हजार ८ सय २४ मत सदर भए पनि २ हजार ३ सय ९२ अर्थात् ४ दशमलव ४१ प्रतिशत मत बदर भएको हो । क्षेत्र नं.२ मा ५८ हजार १ सय ४० मत सदर भएकोमा २ हजार ४ सय ६ अर्थात् ३ दशमलव ९७ प्रतिशत मत बदर भएको निर्वाचन अधिकारी शर्माले जानकारी दिए । यस्तै क्षेत्र नं. १ मा समानुपातिकतर्फ ९८ हजार ३ सय ८३ मतदाता रहेकोमा ५४ हजार ८ सय १२ मत खसेको थियो । जसमा १ हजार ९ सय २० अर्थात् ३ दशमलव ५० प्रतिशत मत बदर भएको छ । जहाँ ५२ हजार ८ सय ९२ मत मात्र सदर भएको छ ।
यसैगरी क्षेत्र नं. २ मा समानुपातिकतर्फ १ लाख १० हजार ९ सय ७६ मतदाता रहेकोमा ६१ हजार ८ सय ६ जनाले मात्र मतदान गरे । जसमा १ हजार ८ सय १४ अर्थात् २ दशमलव ९३ प्रतिशत मत बदर हुन पुगेको निर्वाचन अधिकारी शर्माले जानकारी दिए । जहाँ ५९ हजार ९ सय ९२ मत मात्र सदर भएको छ ।यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत पाल्पाका दुई वटा निर्वाचन क्षेत्रका २४ जना उम्मेदवारको धरौटी जफत भएको छ । कुल सदर मतको १० प्रतिशतसम्म मत प्राप्त गर्न नसकेपछि उनीहरूको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी महेश शर्माले बताए । यहाँँको क्षेत्र नं. १ बाट १४ जना उम्मेदवार मध्ये ३ जनाले मात्र जमानत जोगाएका छन् । नेपाली काँग्रेसका उम्मेदवार सन्दीप राना, नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्तले जमानत जोगाउन सफल भएको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ ११ जना उम्मेदवारको जमानत भने जफत भएको हो । यस्तै क्षेत्र नं. २ मा पनि ३ जना उम्मेदवारले मात्र जमानत जोगाएका छन् भने १३ जना उम्मेदवारको जमानत जफत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. माधव थापा, नेपाली काँग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठ र नेकपा एमालेका उम्मेदवार ठाकुर प्रसाद गैरेले मात्र जमानत जोगाएको निर्वाचन कार्यालयले जनाएको छ । अन्य १३ उम्मेदवारहरुको भने जमानत जफत भएको छ । उम्मेदवारले मनोनयन दर्ता गर्दा १० हजार धरौटी जमानत बुझाएका थिए । यहाँ २४ जना उम्मेदवारको धरौटी जफत हुँदा कुल २ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको निर्वाचन कार्यालयले जनाएको छ । धरौटी जोगाउन सफल भएका उम्मेदवारलाई भने प्रक्रिया पु¥याएर माग गरेमा धरौटी रकम फिर्ता हुने छ ।


