भैरहवा (रुपन्देही), लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने उद्देश्यले थाइल्याण्डका करिब ३०० भिक्षुहरुले पदयात्रा सुरुआत गरेका छन् ।
चारिक थुडोङ बुद्धभूमि’ नाम दिइएको उक्त पदयात्रा लुम्बिनीस्थित थाई मन्दिरबाट सुरु भई दुई दिन एक रातको पैदलयात्रापछि रामग्राम पुग्ने कार्यक्रम रहेको छ । पहिलो रात भैरहवास्थित शान्ति बौद्ध गुम्बामा बस्ने र अर्को दिन रामग्राम स्तुप पुग्ने कार्यक्रम रहेको छ । पदयात्रा टोलीका प्रमुख आचार्य चालान अनङ्कानोले बुद्धभूमि लुम्बिनीबाट यात्रा सुरु गर्न पाउनु आफूहरूका लागि ठूलो सौभाग्य भएको बताए । उनले यो यात्रा मन र आत्मालाई शुद्ध पार्ने, धर्मको अभ्यास गर्ने तथा समाजमा करुणा र दयाको भावना फैलाउने उद्देश्यले आयोजना गरिएको जानकारी दिए ।
“हामी बुद्धका पाइलाहरू पछ्याउँदै धर्म अभ्यास गर्न यहाँ आएका हौँ”, उहाँले भन्नुभयो, “लुम्बिनीजस्तो पवित्र स्थलको संरक्षण गरिदिने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई साधुवाद र धन्यवाद व्यक्त गर्दछौँ ।” थाइल्याण्डको श्रीसाकेत प्रान्तस्थित ‘उद्यान धाम डोंग याङ’ बाट आएका भिक्षुहरुको टोलीको नेतृत्व आचार्य चरन अनङ्खानोले गरेका छन् । टोलीमा थाइल्याण्डका भिक्षुहरूका साथै लाओस, मलेसिया र भियतनामका भिक्षुहरू पनि सहभागी छन् । भन्ते विचयाका अनुसार यो पदयात्रा मुख्यतः शान्ति र आत्म अनुशासनको अभ्यासका लागि गरिएको हो । “मानिसले आफ्नो जीवनमा सहनशीलता र आत्मनियन्त्रण कति महत्वपूर्ण छ भन्ने अनुभव गर्न यस्तो यात्रा सहयोगी हुन्छ”, उनले भने । पदयात्राका सहभागीहरु प्रत्येक पाइला सचेतनतासहित हिँड्दै करुणा र मैत्रीभावको अभ्यास गर्ने लक्ष्यका साथ यात्रा गरिरहेका छन् । आयोजकका अनुसार यो यात्रा बुद्ध धर्मका अनुयायीहरूले बुद्धका जीवन र शिक्षालाई स्मरण गर्दै आध्यात्मिक साधना गर्ने अवसर पनि हो ।
रामग्राम पुगेपछि टोली भारततर्फ प्रस्थान गरी कुशीनगर, वैशाली हुँदै बोधगयासम्म पैदलयात्रा गर्ने कार्यक्रम रहेको जनाइएको छ । यस प्रकारको पदयात्रा आचार्य चरन अनङ्खानोको नेतृत्वमा हरेक वर्ष आयोजना हुँदै आएको टोलीमा सहभागी स्वयंसेवक अकनन्ले जानकारी दिए ।


