पाल्पा, पाल्पामा समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ । अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ । रास्वपाको घण्टी चिन्हमा ५० हजार ४ सय ५२ मत खसेको छ । सोमबार बिहान अन्तिम मत परिणाम सार्वजनिक हुँदा रास्वपाले उक्त मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको हो ।
उसले पाल्पा क्षेत्र नं. १ मा १९ हजार ७ सय ३८ र क्षेत्र नं. २ मा ३० हजार ७ सय १४ मत प्राप्त गरेको छ । यहाँ समानुपातिकमा नेकपा एमाले दोस्रो, नेपाली काँग्रेस तेस्रो र नेपाली कम्युनिष्ट पार्टी चौथो भएका छन् । एमालेले क्षेत्र नं. १ मा १५ हजार १ सय ६५ र क्षेत्र नं. २ मा ९ हजार ८ सय १ मत गरी कुल २४ हजार ९ सय ६६ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ । नेपाली काँग्रेसले क्षेत्र नं. १ मा १३ हजार १ सय ७१ र क्षेत्र नंं. २ मा १० हजार ८ सय २५ गरी कुल २४ हजार ६ मत प्राप्त गरी तेस्रो भएको छ । यसैगरी नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नं. १ मा १ हजार ५४ र क्षेत्र नं. २ मा ४ हजार २ सय ३२ गरी कुल ५ हजार २ सय ८६ मत प्राप्त गरेको छ । यसैगरी पाल्पामा प्रत्यक्षतर्फ उम्मेदवार नभएपनि समानुपातिक तर्फ श्रम संस्कृति पार्टीले क्षेत्र नं.१ मा १ हजार ७ सय ९५ र क्षेत्र नं. २ मा १ हजार ७ सय ६३ गरी कुल ३ हजार ५ सय ५८ मत प्राप्त गरेको छ । यसैगरी राप्रपाले क्षेत्र नंं १ मा ४ सय ७ र क्षेत्र नंं २ मा ९ सय १२ गरी कुल १ हजार ३ सय १९ मत प्राप्त गरेको छ । यसैगरी नेशनल रिपब्लिक नेपालले १ हजार ५४, राष्ट्रिय जनमोर्चाले ५ सय २३, मंगोल नेशनल अर्गनाईजेसनले २ सय ६५, सार्वभौम नागरिक पार्टीले १ सय ६० र राष्ट्रिय जनमुक्ति पार्टीले १ सय ३६ मत प्राप्त गरेका छन् । पाल्पा क्षेत्र नं. १ मा समानुपातिकतर्फ ९८ हजार ३ सय ८३ मतदाता रहेकोमा ५४ हजार ८ सय १२ मत खसेको थियो भने १ हजार ९ सय २० मत बदर भएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । क्षेत्र नं. २ मा १ लाख १० हजार ९ सय ७६ मतदाता रहेकोमा ६१ हजार ८ सय ६ मत खसेकोमा १ हजार ८ सय १४ मत बदर भएको थियो ।
प्रत्यक्ष तर्फ कम्तीमा १ सिट र समानुपातिकतर्फ देशभरीबाट खसेको मतको ३ प्रतिशत मत ल्याउने राजनीतिक दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने, राष्ट्रिय दलले मात्र समानुपातिक मतको आधारमा सिट संख्या पाउने अवस्था रहेको छ । प्रत्यक्ष सिट र समानुपातिक मतको आधारमा रास्वपा, काँग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति र राप्रपाले मात्र समानुपातिक निर्वाचनमा पाएको मत सदुपयोग गर्र्ने अवसर पाएका छन् । अन्य राजनीतिक दलले प्राप्त गरेको समानुपातिक मत आफ्नो पार्टीको अवस्था जान्न बाहेक अन्य अवस्थामा प्रयोग नहुने देखिएको छ । यहाँबाट प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सन्दीप राना १८ हजार ३ सय ३६ मतसहित विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नारायणप्रसाद आचार्यले १६ हजार ८ सय १९ मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विमल पन्तले १४ हजार ३ सय ३३ मत ल्याएका थिए ।क्षेत्र नम्बर २ मा रास्वपाका माधवबहादुर थापाले २६ हजार ७ सय ३६ मत प्राप्त गरेर निर्वाचित भए । थापाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका ठाकुरप्रसाद गैरेले १० हजार ५ सय ३, नेपाली कम्युनिस्ट पार्टीका सोमप्रसाद पाण्डेयले ५ हजार सय ८८ मत प्राप्त गरेका थिए ।


