Shittalpati
वर्षा र बाढीबाट ८ जनाको मृत्यु

नैरोबी,केन्याको राजधानी नैरोबीमा रातभर परेको भारी वर्षापछि आएको बाढीले व्यापक अव्यवस्था सिर्जना गरेको छ । सडकहरू डुबानमा परेपछि धेरै सवारी साधन फसेका छन्, उडानहरू अवरुद्ध भएका छन् र उद्धारका लागि सेना परिचालन गरिएको छ । यस घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

नैरोबीका प्रहरी प्रमुख जर्ज सेडाका अनुसार खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का गरिएको छ । उनका अनुसार छ जनाको बाढीमा डुबेर मृत्यु भएको हो भने अन्य दुई जनाको करेन्ट लागेर ज्यान गएको हो । भारी वर्षाका कारण सडकहरूमा पानी भरिएपछि ठूलो सङ्ख्यामा सवारी साधन क्षतिग्रस्त भएका छन् । प्रहरी प्रमुख सेडाले १०० भन्दा बढी सवारी साधन क्षतिग्रस्त भएको र केही सडक किनार तथा पार्किङ क्षेत्रमा पल्टिएको जानकारी दिए । यसैबीच केन्या एयरवेजले नैरोबीमा उडान सञ्चालन प्रभावित भएको जनाएको छ । कम्पनीका अनुसार केही उडानहरू तटीय सहर मोम्बासातर्फ मोडिएको छ र विमानस्थलको सञ्चालन घण्टौँसम्म प्रभावित रहने सम्भावना रहेको छ । आपतकालीन सेवाहरूलाई सहयोग गर्न सेना पनि परिचालन गरिएको छ । उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सैन्य उद्धार टोली रातारात तैनाथ गरिएको हो ।

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update