Shittalpati
पाल्पा– १ मा ढल्यो ३१ वर्षे एमाले विरासत, काँग्रेसका सन्दीप राना विजयी 

पाल्पा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ३१ वर्षदेखि पाल्पा क्षेत्र नं. १ मा निर्वाचनमा राख्दै आएको वर्चश्व यस पटक गुमाएको छ । एमालेले २०५१ सालको  निर्वाचनदेखि नै आफ्नो वर्चश्व राख्दै आएको थियो । २०५१ मा दलबहादुर रानाले विजयी भएपछि पूर्वी पाल्पालाई नेकपा (एमाले)को गढका रूपमा चिनिँदै आएको थियो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको शनिबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार काँग्रेसका युवा तथा प्रभावशाली नेता सन्दीप रानाले विजयप्राप्त गरेसँगै नेकपा (एमाले)को गढ भत्किएको छ । काँग्रेस नेता रानाले नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्यलाई  पराजित गर्दै जित हात पारेका हुन् ।  उनले १८ हजार ३ सय ३६ मतसहित विजयीको झण्डा पूर्वी पाल्पामा फहराएका छन् ।  एमालेका आचार्यले १६ हजार ८ सय १९ मत प्राप्त गरि पराजित भए ।  यस्तै रास्वपाका विमल पन्तले भने १४ हजार ३ सय ३३ मत लिएर तेस्रो स्थानमा  रहे ।   यस क्षेत्रमा २०५१ सालदेखि नेकपा एमालेका उम्मेदवार विजयी हुँदै आएका थिए । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले ३१ हजार १ सय ३ मत प्राप्त गर्दै फराकिलो मतान्तरसहित विजयी भएका थिए । उनका निकटतम प्रतिस्प्रर्धी कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २ सय ५६ मत प्राप्त गरेका थिए । यस पटकको निर्वाचनमा एमालेले आचार्यलाई नै दोहोर्‍याएको  थियो । यस क्षेत्रमा २०५१ मा एमालेलेका दलबहादुर राना , २०५६ मा भद्र बहादुर थापा, २०६४ सालको संविधानसभा निर्वाचनमा दलबहादुर राना पुनः विजयी भएका थिए । २०४८ सालमा कांग्रेसबाट कालुराम रानामगर निर्वाचित भएका थिए । त्यसबेला रानासँगै दलबहादुर प्रतिस्पर्धी थिए । त्यसपछिको २०७० सालको संविधानसभा निर्वाचनमा एमालेकै राधाकृष्ण कँडेल यस क्षेत्रबाट चुनिए । २०७४ सालको निर्वाचनमा एमालेबाटै पुनः राना विजयी भएको क्षेत्र हो । पाँचौं पटकको उम्मेदवारीमा तीनपटक निर्वाचित भएर दलबहादुर यसपटक सक्रिय राजनीतिबाट बाहिरिएका छन् । 

प्रतिनिधि सभा सदस्यमा विजयी भएसँगै काँग्रेस नेता रानाले अहिलेको पुस्ताले उठान गरेका शासन प्रणाली, पारदर्शिता र उत्तरदायित्व, रोजगारी र विकासमुखी शासन स्थापना गर्नु आफ्नो पहिलो प्राथमिकता  हुने बताए । उनले समावेशी लोकतन्त्रलाई थप बलियो बनाउँदै अनुभव र उर्जाको समन्वयमार्फत् जनआजावलाई शिरोधार्य गर्ने समेत उल्लेख गरे । नेता रानाले उज्यालो पाल्पा अभियानलाई प्राथमिकतामा राख्ने र निर्वाचन क्षेत्र नं. १ का विद्युतीकरण हुन बाँकी सम्पूर्ण टोल र बस्तीहरूमा आगामी ५ वर्षभित्र अनिवार्य रूपमा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण सम्पन्न गर्ने प्रतिज्ञा समेत गरेका छन् । अन्तर्राष्ट्रिय छवि बनाएका उनी हाल लुम्बिनी प्रदेशसभा सदस्य, महासमिति सदस्य तथा अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्षसमेत हुन् । ग्रामीण क्षेत्रका युवासँग नजिक रहेर सक्रिय राजनीति गर्दै आएका रानालाई पाल्पा–१ मा एमालेको बलियो पकडलाई चुनौती दिन सक्ने उम्मेदवारका रुपमा  कांग्रेसले अगाडि सारेको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update