पाल्पा, जिल्लाको एक स्थानीय तहले कृषकले पालेका गाई–भैंसीको निःशुल्क गभए परीक्षण गरिदिने गरेको छ । यहाँको पूर्वखोला गाउँपालिकाले हेफर इन्टरनेसनल नेपालको प्राविधिक सहयोग र समाज उत्थान सहयोग पाल्पाको समन्वयमा पूर्वखोला कृषि तथा पशु विकास परियोजनामार्फत गोठमै प्राविधिक पठाएर गाइँ–भैंसीको निःशुल्क गर्भ परीक्षण गर्दै आएको हो ।
गाई –भैसीमा देखिएको प्रजनन् विकृति र बाँझोपन निवारण शिविर सञ्चालन गरी पशुपालक कृषकलाई निःशुल्क सेवा दिइने गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । अल्ट्रासाउण्डबाट गाई– भैसींको निःशुल्क गर्भ परीक्षण हुन थालेपछि यहाँका पशुपालक कृषकहरुको ठूलो आर्थिक क्षति हुनबाट समेत जोगिएको छ । समयमै पशुको गर्भ परीक्षण हुने र समस्या थाहा पाउने भएपछि आर्थिक क्षति हुनबाट जोगिने गरेको हो । पशुको गाई भैसीमा प्रयोग गरिएको आधुनिक अल्ट्रासाउन्ड प्रविधिले पशु प्रजनन्मा देखिएका समस्या तथा बाँझोपन निवारण गर्न महत्वपूर्ण सहयोग गरेको छ । उक्त मेसिनबाट गर्भ अवस्था, पाठेघरको भित्री संरचना तथा सम्भावित समस्या सजिलै पत्ता लगाउन सकिन्छ । गाई–भैँसीमा पटक–पटक बाली लाग्ने तर गर्भ स्थायी रूपमा नबस्ने, एक पटक व्याएपछि लामो समयसम्म बाली नलाग्ने, समय–समयमा गर्भ खस्ने जस्ता समस्या पहिचान तथा समाधान गर्न, पशुमा हुने प्रजनन् विकृति र बाँझोपन निवारण शिविर सञ्चालन गरिएको परियोजना संयोजक राजकुमार आलेले बताए ।
बढ्दो बसाईसराई रोक्न, गाउँबस्तीलाई हराभरा बनाउन, गाउँमै स्वरोजगार, उद्यमी बन्न, आयआर्जन बढाउन आधुनिक प्रविधिबाट कृषि र पशुपालन नै रहेकोले पालिकाले ठूलो लगानीमा हेफर पोजेक्ट नेपालसँग सहकार्य गरी कृषकको माग र आवश्यकतामा आधारित कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आएको गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बताए । पालिकाले पहिलो पटक आधुनिक प्रविधिबाट पशु गर्भपरिक्षण गरेको भएपनि आगामी दिनमा पालिकाले आफै अल्ट्रासाउण्ड मेसिन किन्ने, पशु प्राविधिकहरुलाई दक्ष बनाउने कृषकहरुलाई घरदैलो सेवा प्रदान गर्ने पालिका अध्यक्ष थापाको भनाई छ ।


