Shittalpati
पत्रकारका लागि छुट्टै पास नचाहिने

काठमाडौं, निर्वाचनको दिन समाचार संकलनका लागि पत्रकारहरुलाई छुट्टै पास नचाहिने भएको छ । निर्वाचनको दिन सञ्चारकर्मीहरूको आवागमनलाई सहज बनाउन निर्वाचन आयोगले छुट्टै पास वितरण नगर्ने निर्णय गरेको छ ।

आयोगले सूचना विभागले जारी गरेको परिचयपत्रकै आधारमा पत्रकारहरूले देशभर आवागमन गर्न पाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । उनले ७९ सालको निर्वाचनमा प्रेस काउन्सिल र आयोगबीच केही तिक्तता भएपनि अहिले ०८२ सालमा राम्रो समन्वय रहेको बताए । साथै, मतदान स्थलको ३ सय मिटर वरिपरि कुनै पनि दलको प्रचार सामग्री भएमा त्यसलाई हटाउन र आचारसंहिता पालनामा सघाउन उनले पत्रकारहरूलाई आग्रह गरे । उनले भने, “सञ्चार क्षेत्रमा काम गर्ने व्यक्तिहरूले निर्वाचनमा आवागमन गर्दा आयोगबाट छुट्टै पास लिनुपर्दैन । सूचना विभागले जारी गरेको पास नै मान्य हुनेछ । आवागमनमा कतै समस्या प¥यो भने आयोगमा तुरुन्त खबर गर्नुहोस्, हामी सहजीकरण गर्छौं ।” यस्तै मतदाता नामावलीमा नाम भएका जो कोहीले कुनै पनि सरकारी कागजात देखाएर मतदान गर्न पाउने भएका छन् । मतदाता परिचयपत्र साथमा नभएपनि मतदाता नामावलीमा नाम भएका जो कोहीले कुनै पनि सरकारी कागजात देखाएर मतदान गर्न पाउने भएका हुन् । 


प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र साथमा लिएर जानुपर्ने उल्लेख छ । तर मतदाता परिचयपत्र साथमा नभए नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै पनि कागजात देखाएर मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update