पाल्पा, जिल्लाको तानसेन नगरपालिका–३ भगवतीटोलस्थित अन्नपूर्ण होटलका सञ्चालक ६५ वर्षीय टिकाराम बस्यालले हरेक वर्ष आउने महाशिवरात्रि पर्वको अवसरमा शिवजीको प्रसाद बाड्ने गर्दछन् । यस वर्षको शिवरात्रिमा समेत उनले बाटोमा हिड्ने यात्रुदेखि शिवालय मन्दिरमा दर्शन गरी फर्कने दर्शानार्थीहरुलाई अन्नपूर्ण होटल परिसरबाट प्रसाद बाँडे ।
बस्यालले एक दश अघिदेखि शिवरात्रिका दिन प्रसाद वितरण गर्दै आएका हुन् । उनले हरेक वर्ष महाशिवरात्रिको अवसरमा शिवको पूजा आराधना गर्नुको साथै प्रसाद वितरणदेखि दिनदुखी र धार्मिक कार्यमा सहयोग समेत गर्दै आएको पाइन्छ । बस्यालले शिवप्रति मनैदेखि श्रद्धा, भाव जागेर आउने गरेको भन्दै शिवजीको प्रसाद सबैलाई ग्रहण गराउने र आवश्यकता अनुसार असशक्त, असहायहरुलाई सहयोग गर्ने गरेको बताउँछन् । उनी भारतको नयाँ दिल्लीमा रहँदा शिवरात्रिका दिन प्रसाद बाँड्ने गरेको र नेपाल आएपछि आफुले पनि हरेक वर्ष शिवरात्रिकै दिन प्रसाद बाँड्ने परम्पराको थालनी गरेको बताउँछन् । बस्यालले भने “म पहिले दिल्लीमा हुँदा त्यहाँ शिवजीको प्रसाद बाँड्ने गरेको देखेको थिएँ । मलाई शिवप्रति मनैदेखि अत्यन्त श्रद्धा जागेर आउन्छ, शिवको पुजा पनि गर्छु । म नेपाल आएपछि हरेक वर्ष घरमै र अहिले होटलमा प्रसाद बाँड्ने गरेको छु ।” बस्यालले शिवरात्रिका दिन पूजा, प्रसाद वितरण मात्र हैन विभिन्न शिवालय मन्दिर र आश्रममा पुगेर आर्थिक, खाद्यान्न समेत सहयोग गरे । उनले बराङ्दीमा रहेको नारायणडाँडा शिवालय मन्दिरमा पुजा गर्दै आएका पुजारीका लागि तलव र पोशाक समेत दिर्दै आएका छन् । बस्याललाई प्रसाद वितरणमा श्रीमति उमादेवी बस्याल बस्यालले समेत साथ दिदै आएकी छन् । प्रसाद ग्रहण गर्न पुग्नेहरु उत्साहित हुँदै बस्याल परिवारलाई धन्यवाद दिदै फर्कने गरेका थिए ।


