पाल्पा, नेपाली काँग्रेस पाल्पाले सत्यवती बज्यैलाई साक्षी राखेर चुनावी प्रचार अभियान सुरु गरेको छ । उसले सोमबार पाल्पाको तिनाउ गाउँपालिका –४ कोलडाँडास्थित सत्यवती ताल पुगेर सत्यवती बज्यैलाई साक्षी राख्दै अभियान सुरु गरेको हो ।निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरेसँगै काँग्रेसले उम्मेदवारसहित नेता कार्याकर्ताहरुको उपस्थितिमा सत्यवती बज्यैलाई साक्षी राखेर चुनावी अभियानलाई औपचारिक रुपमा सुरु गरेको छ ।
अभियानमा नेपाली काँग्रेस पाल्पा क्षेत्र नं।२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हिमादलत्त श्रेष्ठ र क्षेत्र नं। १ का उम्मेदवार सन्दीप रानाले पुजाआजासँगै सत्यवती बज्यैसँग वर मागेका छन् । उनीहरुले फागुन २१ ग्ते हुने प्रतिनिधि सभाको निर्वाचनमा आफुहरुसहित काँग्रेसका उम्मेदवारलाई विजयी गराइदिन आग्रह गर्दै वर मागेका हुन् । उनीहरुले सत्यवती बज्यैलाई साक्षी राखेर सत्यवती क्षेत्रसहित जिल्लाको समग्र धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्ने र यहाँका नागरिकलाई रोजगार र उत्पादनसँग जोड्ने अठोट गर्दै आफुहरुलाई विजयीको आर्शिवाद दिन आग्रह गरे । क्षेत्र नं। २ का उम्मेदवार श्रेष्ठले सत्यवती बज्यैको आर्शिवादले आफ्नो परिवारमा ठूलो व्रदान पाएकाले आफ्नो चुनावी प्रचार अभियानलाई यहीबाटै सुरु गरेको बताए । उनले भने “सत्यवती बज्यैमा ठूलो शक्ति छ, मेरा पाँच दिदी बहिनीहरुले आफु मुनि भाइ नभएपछि यहाँ आएर भाइको जन्म होस् भनेर सत्यवती बज्यैसँगै वर मागेपछि मेरो जन्म भएको हो । त्यसैले यही खुसीयालीमा मैले आफ्नो चुनावी अभियानलाई समेत यहीबाट प्रारम्भ गरेको छु ।” विजयी भएपछि बज्यैसँग गरेका सबै वाचाहरु पुरा गर्ने उनको भनाई छ । श्रेष्ठले जनतासँग गरेका सबै वाचा बज्यैसँगै वर माग्दा गरेको भन्दै विजयी भएपछि पुरा गर्ने अठोट गरे । क्षेत्र नं। १ का उम्मेदवार रानाले पनि सत्यवती बज्यैसँगै विजयीको वर मागे । उनले पाल्पाको आर्थिक समृद्धि , सुशासन र विकासका लागि आफुसहित काँग्रेसका उम्मेदवारहरुलाई विजयी गराइदिन बज्यैसँग वर मागेका छन् । उनले पनि जनतासँग घरदैलोमा पुग्दा गरेका वाचाहरु नै बज्यैलाई सुनाउँदै आर्शिवाद मागेका हुन् ।
काँग्रेसका नेता कार्यकर्ताहरु उत्साहका साथ उम्मेदवारहरुसँगै सत्यवती ताल पुगेका थिए । सत्यवतीको पुजा गरेपछि चुनावी अभियान प्रारम्भलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंहले कांग्रेसलाई बहुमतले जिताउनुपर्ने आवश्यकता औंल्याउँदै गगन थापालाई प्रधानमन्त्री बनाउन पाल्पाबाट हिमालदत्त श्रेष्ठ र सन्दीप रानाको जीत अनिवार्य रहेको बताए । उनले नेपाली कांग्रेस देशकै अभिभावक पार्टी भएकाले मुलुकका हरेक समस्यालाई मर्यादित रूपमा समाधान गर्ने बताए । कांग्रेस कमजोर हुँदा देश नै कमजोर हुने भन्दै उनले प्रजातन्त्रमा विश्वास राख्ने सबै नागरिकलाई कांग्रेसमा आबद्ध भएर देशको सेवा गर्न आग्रह गरे । निर्वाचन परिचालन समिति पाल्पाका संयोजक तथा लुम्बिनी प्रदेश सांसद विरबहादुर रानाले मुलुकको स्थायित्वको लागि काँग्रेसको विकल्प नरहेको समेत बताए ।
काँग्रेसले युवालाई अगाडि सार्ने नीतिअनुसार गगन थापालाई युवा नेताको रूपमा अगाडि बढाएको र भावी प्रधानमन्त्री बनाउने योजनाका साथ अघि बढेको उनले उल्लेख गरे ।” पार्टीको नेतृत्व अब युवाको काँधमा पुगेकाले आम मतदाताले एक पटक कांग्रेसलाई विश्वास गर्न जरुरी छ”, रानाले भने । अहिले पाल्पाका दुवै क्षेत्रमा काँग्रेसका उर्जाशिल युवाहरुलाई काँग्रेसले उम्मेदवार बनाएकाले गाउँ गाउँका मदतादाहरुमा उत्साह छाएको उनले बताए । कार्यक्रममा नेपाली काँग्रेस पाल्पा कार्यवाहक सभापति झपेन्द्र गहिरे, काँग्रेसका पूर्व केन्द्रीय सदस्य हरी प्रसाद नेपाल, काँग्रेस क्षेत्र नं। २ का क्षेत्रिय सभापति मुक्तिराम जिसी, काँग्रेस तिनाउ गाउँपालिकाका सभापति प्रेम पाण्डे लगायतले देशलाई संकटबाट बचाउन काँग्रेसलाई जिताउन मतदातासँग आग्रह गरे । काँग्रेसले जितेमा युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गरी विदेशमा पाइने सुविधा र सम्मान यहीँ उपलब्ध गराउन सक्ने, नेपालमा पर्यटन, कृषि र जलविद्युतको क्षेत्रमा छिट्टै फड्को मार्दै शिक्षा, स्वास्थ्य, पर्यटन, उद्यमशीलता र पूर्वाधार विकास हुनेमा उनीहरुले जोड दिए । नेपाली काँग्रेस तिनाउ गाउँपालिका –४ का वडा सभापति देव सिंह दर्लामीको अध्यक्षता, पूर्व वडा सभापति दानबहादुर गाहाको स्वागत, महिला नेतृ रिमा सुनारको सञ्चालनमा कार्यक्रम भएको थियो । काँग्रेसले सोमबार नै क्षेत्र नं १ को कोल्डाँडा र २ को कचलमा पुगेर मतदातालाई भेटेका छन् ।


