पाल्पा,आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पाल्पाका उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरु मतदातामाझ विभिन्न आश्वासन बाँडिरहेका छन् ।
दुई वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा दुई पदका लागि ६ स्वतन्त्रसहित २९ जना चुनावी मैदानमा उत्रिएका छन् । यहाँको क्षेत्र नं. १ बाट ९ दल र ४ स्वतन्त्र र क्षेत्र नं २ बाट १४ राजनीतिक दल र दुई स्वतन्त्र उम्मेवार चुनावी मैदानमा छन् । उनीहरु सबै दूरदराजका बस्तीदेखि सहर बजारका चोक र गल्लीमा भोट मागी रहेको भेटिन्छन् । निर्वाचन हाँक्न दलले नेतृत्व पनि चयन गरिसकेका छन् । सबै दलले निर्वाचनका लागि सम्पर्क कार्यालय खोलेर नेता कार्यकर्ता परिचालन गरिसकेका छन् । बिहानैदेखि उम्मेदवारहरू मतदाताको घर, काम गरिरहेका खेतबारीमा पुगेर मत माग्न व्यस्त देखिन्छन् । अहिले उम्मेदवारहरू ठूला सभा÷समारोहभन्दा पनि स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर घरदैलो गरिरहेका छन् । उम्मेदवारहरूले भेला, छलफल र घरदैलो सुरु गरेपछि चुनावी रौनकसमेत थपिएको छ । माघ ६ गते उम्मेदवारी दर्ता गरेपछि मतदाता समक्ष पुगेर भोट माग्न उम्मेदवार व्यस्त देखिन्छन् । पाल्पा क्षेत्र न : २ मा नेपाली काँग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठ दिनहुँ मतदाता भेटघाटमै व्यस्त छन् । उनी मित्रवत् व्यवहार र आर्थिक मितव्यिताको अवधारण आगाडि सार्दै मतदाता भेटिरहेका छन् । नेता श्रेष्ठले देशलाई संकटबाट बचाउन काँग्रेसलाई जिताउन मतदातासँग आग्रह गर्दै आएका छन् । युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गरी विदेशमा पाइने सुविधा र सम्मान यहीँ उपलब्ध गराउन काँग्रेसलाई विजय गरान आवश्यक रहेको उनले मतदाताहरुलाई बताएका छन् ।
पर्यटन, कृषिको माध्यमबाट छिट्टै समृद्धि हासिल गर्न सकिने भन्दै उनले शिक्षा, स्वास्थ्य, पर्यटन, उद्यमशीलता र पूर्वाधार विकास आफ्नो प्राथमिकता रहेको उल्लेख गरे । उनले भने “पाल्पाको समृद्धि नै पर्यटन र कृषि भएकाले सुन्तला, तरकारी, अकबरे खुर्सानीलगायतबाट किसानको आर्थिक विकासमा सहयोग गर्न सकिन्छ । ”नेता श्रेष्ठले विगतदेखि झेल्दै आएका समस्याको विषय आफूले राम्रोसँग बुझेको बताए । उनले आफ्नो मुख्य प्राथमिकता जनताको जनजीविकाको सवाललाई उठाउने रहेको बताए । उनी सबै मतदाताप्रति पूर्ण उत्तरदायी, जिम्मेवार हुने र सधैं दुःख सुखमा साथ दिने प्रतिबद्धता जनाउँदै घरदैलोमा पुगेका छन् । यस्तै नेकपा एमालेबाट उम्मेदवार बनेका ठाकुर प्रसाद गैरेले पनि घरदैलोलाइै तिव्रता दिएका छन् । उनले विद्यार्थीकाल देखी नै जनता र देशको पक्षमा उभिएर निरन्तर राष्ट्रहितको पक्षमा काम गरेको बताउदै मतदाताहरुसँग मत मागेका छन् । ०७९ पछि ३१ महिनामा सुरु गरेका र गर्न बाँकी कामहरुलाई उपलब्धिमूलक बनाउन पुनः एकपटक आफ्नो उम्मेदवारी रहेको नेता गैरेले मतदातालाई बताउने गरेका छन् । क्रमिक रुपमा नागरिकका गुनासो सम्बोधन गर्न काम गर्ने उनले बताए । यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका सोम प्रसाद पाण्डे पुरानो अनुभव र नयाँ योजनाका साथ चुनावी मैदानमा उत्रिएका छन् । उनले मतदातासँग भनेका छन् “मेरो पाल्पामा अरु कुनै स्वार्थ छैन्, मलाई कुनै पैसा कमाउनु परेको छैन्, अझै पाल्पाली जनताको सेवा गर्ने, आफ्ना विगतका अधुरा योजना पुरा गर्ने, दुःखमा परेका पाल्पालीहरुको सेवा गर्ने, पाल्पाको विकास निर्माणमा योगदान गर्ने अभियानका साथ पाल्पा क्षेत्र नंं २ मा नेकपाबाट उम्मेदवारी दिएको छु ।” यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधवबहादुर थापा, राष्ट्रिय जनमोर्चाबाट बालबहादुर दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डुलबहादुर कुँवर, नेशनल रिपब्लिक नेपालबाट देवप्रसाद श्रेष्ठ, सार्वभौम नागरिक पार्टीबाट रामबहादुर अस्लामी, जनता समाजवादीबाट खिकबहादुर रेश्मी, राष्ट्रिय जनमुक्तिबाट टोपबहादुर अस्लामी, मङ्गोल नेसनल अर्गनाइजेसनबाट मानबहादुर दर्लामी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट विष्णु ठडराई, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट बोधराज जैसी, नेपाल मजदुर किसान पार्टीबाट कृष्णशोभा मुस्याख्व, स्वतन्त्रबाट मोहनकुमार थापा र केशवप्रसाद बस्याल पनि घरदैलोमा व्यवस्त छन् । उता क्षेत्र नं. १ मा पनि उम्मेदवारहरुले घरदैलो गरिरहेका छन् । यहाँ नेकपा (एमाले) बाट नारायणप्रसाद आर्चाय, नेपाली कांग्रेसबाट सन्दिप राना, नेपाली कम्युनिष्ट पार्टीबाट हुमबहादुर सुनारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिमल पन्त र राष्ट्रिय जनमोर्चाबाट नरमती सिञ्जाली, ङ्गोल नेशनल अर्गनाइजेसनबाट सलन चिदी, नेशनल रिपब्लिक नेपालबाट थमनसिंह रेग्मी मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बृहस्पति अर्याल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट पुरन गैरे शर्मा तथा स्वतन्त्रबाट कौशल अर्याल, डिल्लीराज काफ्ले, जुद्धबहादुर विरकट्टा र वाछावली मिया चुनावी मैदानमा छन् । विगतका निर्वाचनको मत परिणाम हेर्दा मुख्यतः एमाले, कांग्रेस, नेकपा र रास्वपाबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।


