Shittalpati
विज्ञानमा महिला पहुँचको दिवस मनाइँदै

पाल्पा, विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै छ । नेपालसहित संसारभर विज्ञानमा महिलाको भूमिका र योगदानको सम्झना गर्दै तथा खुसी साटासाट गरी यो दिवस मनाउने गरिएको छ ।

२२ डिसेम्बर २०१५ मा संयुक्त राष्ट्र संघको महासभाले संकल्प प्रस्ताव पारित गरेयता दिवस मनाउन थालिएको हो । ११ फेब्रअरीलाई विज्ञान र प्रविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला एवं युवतीहरूको सम्झना गरिन्छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा महिलाको पहुँच वृद्धि गर्नु दिवस मनाइनुको उद्देश्य हो । अहिलेको युग विज्ञान र प्रविधिको युग हो । अहिले दिनप्रतिदिन विज्ञानको महत्व अत्यन्त बढेको छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा महिलाको पहुँच वृद्धि गर्न यस दिन विभिन्न कार्यक्रम हुने गर्दछन् ।  महिला समानताको लागि थुप्रै पहल संसारभरि नै हुने गर्दछ । तर, दिन प्रतिदिन विज्ञानको महत्व बढिरहेको हाम्रो युगमा यदि हाम्रा महिलाहरू विज्ञानमै पछाडी रहे भने, आउँदो समयमा के महिला सशक्तीकरण सम्भव छ त ? हामी मध्य धेरैले यो कुरा सोचेका छैनौ होला । त्यसै कारण हरेक वर्षको फेब्रुअरी ११ का दिन संयुक्त राष्ट्र संघले यो चिन्ताको विषयमा प्रकाश पार्न आजको दिन मनाउने गरेको छ । पछिल्लो समय नेपालमा महिलाहरू विज्ञान प्रविधि क्षेत्रमा अग्रसर भएको देखिए पनि नेतृत्व तहमा पछि नै छन् । व्यवस्थापनमा महिलाहरू अगाडि भए पनि विज्ञान प्रविधिका पक्षमा पर्याप्त अग्रता लिन सकेका छैनन् । समाजमा अझै पनि महिलाले सूचना प्रविधिसँग सम्बन्धित तथा प्राविधिक काम गर्न सक्दैनन् भन्ने मान्यता व्याप्त छ । सरकारको योजनाबद्ध कार्यक्रम तथा डिजिटल साक्षरताको कमीले अझै पनि यो क्षेत्रमा महिलाहरू पछाडी नै छन् । दुर्गम क्षेत्रमा सूचना प्रविधिको पहुँच कम रहेकाले त्यहाँका महिलाको अवस्था झनै दयनीय छ ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update