Shittalpati
 आजदेखि पाल्पासहित देशैभर किशोरीलाई एचपीभी खोप लगाइँदै

पाल्पा, किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन १५ गतेसम्म  गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गरिएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाल्पासहित देशैभरका कक्षा ६ मा पढ्ने,  विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका, गत वर्षको अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्षका विद्यालयबाहिरका करिब तीन लाख ५० हजार किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिन लागेको हो ।

सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई उक्त खोप लगाएको थियो । पाल्पामा पनि यस वर्ष दुई हजार बढी किशोरीलाई खोप लगाउन लागिएको छ । जिल्लाका दश स्थानीय तहमा रहेका २ सय २७ सामुदायिक र संस्थागत विद्यालयका दुई हजार ४३ जना किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले बताए । यहाँ फागुन २ गतेसम्म अभियान सञ्चालन हुने छ । जिल्लामा सबैभन्दा धेरै तानसेन नगरपालिकामा ४ सय ८५ जनाले खोप लगाउँदै छन् । यहाँ माघ २५ देखि फागुन २ गतेसम्म खोप लगाईने छ । त्यस्तै १० पालिका मध्ये सबैभन्दा कम बगनासकाली गाउँपालिकामा ९० जनालाई खोप लगाइँदै छ । यहाँँ  माघ २५ देखि २७ गतेसम्म खोप दिइने प्रमुख पाखेरलले बताए । यस्तै रामपुर नगरपालिकामा ४ सय ८ जना किशोरीलाई खोप दिइने छ । यहाँ माघ २५ देखि फागुन १ गतेसम्म अभियान सञ्चालन हुने छ । पूर्वखोला गाउँपालिकामा १ सय १० जनालाई खोप लगाइने छ । यहाँ माघ २५देखि २६  गतेसम्म लगाइने छ ।

यस्तै रम्भा गाउँपालिकामा १ सय २५ जना किशोरीलाई खोप लगाइने छ । जहाँ माघ २५देखि २८ गतेसम्म दिइने छ । रिब्दीकोट गाउँपालिकामा १ सय ११ रैनादेवी छहरा गाउँपालिकामा २ सय ९ जना, तिनाउ गाउँपालिकामा १ सय ६९ जना, माथागढी गाउँपालिकामा १ सय ९१ जना र निस्दी गाउँपालिकामा १ सय ४५ जनालाई खोप दिइने छ । यी पालिकाहरुमा माघ २५ देखि २७ गतेसम्म खोप लगाईने छ । खोपका लागि ४ सय ५४ जना स्वास्थ्यकर्मी र २ सय २७ जना स्वयमसेवक परिचालन गरिदैं छ । खोप प्रभावकारी भएकाले सबै किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन  सरकारले खोप अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालयका फोकल पर्सन विश्वनाथ न्यौपानेले जानकारी दिए । पछिल्लो समय नेपालमा महिलाको पाठेघरको मुखको क्यान्सर प्रमुख स्वास्थ्य समस्याका रूपमा देखा परेकाले रोग नियन्त्रणका लागि  अभियान फलदायी हुने अपेक्षा लिइएको न्यौपानेले बताए ।
 

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update