Shittalpati
सहिद सप्ताहकोे चौंथो दिन :  माथेमाको सम्झना

पाल्पा, सहिद सप्ताहको चौथो दिन मंगलबार सहिद धर्मभक्त माथेमाको शालिकमा माल्यार्पण गरी सम्झना गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गरेको स्थलमा रहेको शालिकमा पुष्पगुच्छा अर्पण गरी उनलाई स्मरण गरिएको हो ।

माथेमाले सहादत प्राप्त गरेको स्थान काठमाडौंको सिफल उकालोमा स्मृतिसभा गरी उनलाई सम्झना गरिएको छ । सहिद सप्ताह मूल समारोह समिति काठमाडौं महानगरपालिकाको आयोजना प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व पाएको स्थानमा स्मृतिसभा गरिएको हो । कामपाले यही माघ १० गतेदेखि माघ १६ गतेसम्म सहिद सप्ताह कार्यक्रम गर्दै आएको छ । विसं १९६६ असोज ९ गते जन्मिएका माथेमालाई तत्कालीन शासकको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई विसं १९९७ माघ १३ गते काठमाडौँको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो । श्रद्धाञ्जली दिन पुग्नेहरुले सहिदहरूले शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ भनेर दिएको सन्देश ग्रहण गर्नुपर्ने जोड दिएका छन् । तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले विसं १९९७ माघ ६ गते सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगलाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुण्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालो रूखमा झुन्ड्याएर र नौ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो । पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनतासम्म पुर्‍याउने क्रममा अमरत्व प्राप्त गर्ने सहिदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह कार्यक्रम हुँदै आएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यही माघ १५ गते शोभा भगवतीमा गंगााल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा स्मृतिसभा आयोजना हुनेछ । सहिद सप्ताहको अन्तिम दिन माघ १६ गते सहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुक र जनताका लागि भएका विभिन्न अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण सहिदको सम्झना गरिन्छ । उनीहरुको पूर्णकदको शालिक उनीहरुले साहादत प्राप्त गरेकै स्थानमा निर्माण गरिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update