Shittalpati
पाल्पामा दलहरुबाट महिलालाई उपेक्षा

पाल्पा (तानसेन), आसन्न प्रतिनिधिसभा सदस्यको लागि हुन लागेको निर्वाचनमा पाल्पामा महिला उम्मेदवारलाई उपेक्षा गरिएको छ । सबै दलले उम्मेदवार सिफारिस गर्दा महिलालाई समेत सिफारिस गरे पनि उम्मेदवार छनोट गर्दा भने उपेक्षा गरेका हुन् ।

दुई वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा कुल ३० जनाले मनोनयन दर्ता गराए पनि एक जना मात्र महिला उम्मेदवार छन् । यो अंकगणितले ठूला र नयाँ सबै दलमा महिला नेतृत्वको विकासबारे राजनीतिक इच्छाशक्तिको अभाव देखाएको छ । कानुनले प्रत्यक्ष र समानुपातिकबिच स्पष्ट बाध्यता नतोकेकाले दलहरूले महिलालाई समानुपातिक कोटामा सीमित गर्ने अभ्यास दोहोर्‍याएका हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांकअनुसार १४ राजनीतिक दल र ७ जना स्वतन्त्र गरी ३० जनाले  उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । मनोनयन दर्ता गराएका मध्ये एक जना स्वतन्त्र उम्मेदवारले भने फिर्ता लिएपछि अहिले २९ जना  चुनावी मैदानमा उत्रिएका छन् । जसमा राष्ट्रिय जनमोर्चाले मात्रै एक जना महिलालाई उम्मेदवार बनाएको छ । उसले पाल्पा क्षेत्र नं. १ बाट नरमती सिंजालीलाई उम्मेदवारी बनाएको हो । अन्य दलहरुले महिलालाई उपेक्षा गरेका छन् । नेपाल महिला संङ्घकी नेतृ गंगा शर्माले  कानुनले नै बाध्यात्मक अवस्था नबनाउँदा यस्तो समस्या आएको बताइन् । “प्रतिनिधिसभामा कानुनले महिलाको प्रतिनिधित्व ३३ प्रतिशत भन्यो, तर प्रत्यक्षतर्फ बाध्य बनाएन । समानुपातिकबाट भए पनि ३३ प्रतिशत पुर्‍याउनुपर्ने भनेपछि सोहीअनुसार राजनीतिक दलको मानसिकता विकास भयो,” उनले भनिन्, “महिलाका लागि प्रत्यक्षर्फतको सिट कानुनमै तोकिएको भए यस्तो समस्या आउँदैन थियो ।” जित सुनिश्चित हुने ठाउँमा पुरुष नेता आफैँ उठ्न खोज्ने परिपाटीले महिलाहरु उम्मेदवारी दिनबाट बञ्चित हुने गरेको  राप्रपाकी महिला नेतृ राधादेवी रायमाझी बताउन्छिन् । उनी भन्छिन् “जित जस्तो भयो भने पुरुष नेताहरू आफैँ उठ्नुहुन्छ, तर हार्नेै जस्तो भयो भने मात्र महिलालाई अगाडि ल्याइन्छ , त्यसो हुँदा महिला उम्मेदवार कम भएको देखिन्छ ।” प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने संवैधानिक बाध्यता भए पनि राजनीतिक दलहरूले प्रत्यक्षतर्फ उम्मेदवार बनाउन यसपटक पनि कन्जुस्याइँ गरेका हुन् ।

यहाँको क्षेत्र नं. १ बाट ९ दल र ४ स्वतन्त्रले उम्मेदवारी दिएका छन् । यहाँ नेकपा (एमाले) बाट नारायणप्रसाद आर्चाय, नेपाली कांग्रेसबाट सन्दिप राना, नेपाली कम्युनिष्ट पार्टीबाट हुमबहादुर सुनारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिमल पन्त र राष्ट्रिय जनमोर्चाबाट नरमती सिञ्जालीले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिए । यस्तै मङ्गोल नेशनल अर्गनाइजेसनबाट सलन चिदी, नेशनल रिपब्लिक नेपालबाट थमनसिंह रेग्मी मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बृहस्पति अर्याल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट पुरन गैरे शर्मा तथा स्वतन्त्रबाट कौशल अर्याल, डिल्लीराज काफ्ले, जुद्धबहादुर विरकट्टा र वाछावली मिया चुनावी मैदानमा छन् । यस्तै  क्षेत्र नं २ बाट १४ राजनीतिक दल र दुई स्वतन्त्र उम्मेवार चुनावी मैदानमा छन्  । यहाँ नेकपा (एमाले) बाट ठाकुर गैरे, नेपाली कांग्रेसबाट हिमालदत्त श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीबाट सोमप्रसाद पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधवबहादुर थापा चुनावी प्रतिस्पर्धामा छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट बालबहादुर दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डुलबहादुर कुँवर, नेशनल रिपब्लिक नेपालबाट देवप्रसाद श्रेष्ठ, सार्वभौम नागरिक पार्टीबाट रामबहादुर अस्लामी, जनता समाजवादीबाट खिकबहादुर रेश्मी, राष्ट्रिय जनमुक्तिबाट टोपबहादुर अस्लामी, मङ्गोल नेसनल अर्गनाइजेसनबाट मानबहादुर दर्लामी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट विष्णु ठडराई, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट बोधराज जैसी, नेपाल मजदुर किसान पार्टीबाट कृष्णशोभा मुस्याख्व पनि चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरी स्वतन्त्रबाट मोहनकुमार थापा र केशवप्रसाद बस्याल पनि चुनावी मैदानमा छन् । 

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update