Shittalpati
हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह

पाल्पा,  जिल्ला प्रशासन कार्यालय पाल्पाले नजिकको प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पन्ध्र दिन भित्र अनिवार्य रुपमा हात–हतियार बुझाउन सर्वसाधारणमा अनुरोध गरेको छ । फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै ईजाजत प्राप्त हात–हतियार भएकाहरुलाई हतियार बुझाउन प्रशासनले एक सूचनामार्फत आग्रह गरेको हो ।

आफ्नो नाममा राखेको बन्दुक,राइफल,रिभल्वर,पिस्तोल लगायत गोली गट्ठा बुझाउन आग्रह गरिएको छ । अवाञ्छित गतिविधि,हिंसा,डरत्रास, वा दुरुपयोगको संभावनालाई न्यूनीकरण गर्न यस्तो कदम चालिएको कार्यालयले जनाएको छ । बुझाइएको हातहतियार निर्वाचन पछि लिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार निर्वाचन प्रक्रिया सम्पन्न भइसकेपछि २०८२ चैत २० गते सम्बन्धित धनीले उपस्थित भई भर्पाईको आधारमा हतियार बुझिलिन पाउने छन् । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले अनुमति प्राप्त गरी घरमा राखेका त्यस्ता हातहतियार बुझाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताए । तोकिएको समय सीमाभित्र हातहतियार नबुझाएमा वा अटेर गरेमा कानुन बमोजिम कारवाही हुने समेत प्रशासनले जनाएको छ ।  


 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update